दूध बिक्री गरी ४ करोड आम्दानी



 

पाल्पा । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् ।

मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक २ हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।

सो क्षेत्रबाट वार्षिक ९ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आर्थिक बर्ष २०७३÷७४ मा ४ करोड ५० हजार रुपैयाँ आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिए ।

सिद्धार्थ राजमार्गसँग जोडिएको मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा संकलन गरी पोखरा र तानसेनमा बिक्री गरिन्छ । डुम्रे दुग्ध उत्पादन सहकारीले यस क्षेत्रबाट दैनिक ५०० लिटर दूध बिक्रीका लागि पोखरा पठाउने गरेको छ ।

दैनिक ४०० लिटर दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध सदरमुकाम तानसेनमा बिक्री गरिन्छ । सो क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् । मदनपोखराका सुकदेव रिजाल गाईपालन गर्ने नमूना किसान हुन । उनले ४६ वटा गाई पालेका छन् ।

डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष राम्जी घिमिरे गाईभैंसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश पलायन हुने क्रम रोकिएको बताए । रासस


पुष्प दुलाल