दिगो विकासमा रहेका सुचनाको हक र पत्रकारको सुरक्षा बारे छलफल शुरु



काठमाडौं । दिगो विकास लक्ष्यमा समावेश भएको सूचनाको हक र पत्रकारको सुरक्षाको बारेमा नेपालले गर्नुपर्ने कार्यहरुको बारेमा छलफल शुरु भएको छ ।

दिगो विकास लक्ष्यको बुँदा नम्बर १६.१० र ११ मा समावेश भएको दुई लक्ष्यहरु पुरा गर्न खेल्नुपर्ने भूमिकाहरुको बारेमा फ्रिडम फोरमले छलफल शुरु गरेको छ । बुधवार फोरमले गरेको छलफल कार्यक्रममा सूचनाको हकको बारेमा अझै जानकारी हुन नसकेको र पत्रकारको सुरक्षामा ध्यान दिन नसकिएको सहभागीहरुले विचार व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले संविधानमा सूचनाको हकको बारेमा स्पष्टरुपमा लेखिएको भएपनि व्यवहारमा भने सो अनुसार पालना हुन नसकेको बताए ।उनले अहिलेको राजनीतिक ध्रुविकरणले पत्रकारको सुरक्षामा थप गंभिर हुनुपर्ने चिन्ता बढेको दाबी गरे ।
उनले मिडिया बलियो भएमात्र अन्य लक्ष्यहरु पुराहुनसक्नेतर्फ सबैको ध्यान आकर्षित गराए ।

कार्यक्रममा फ्रिडम फोरमका तर्फबाट तारानाथ दाहालले सूचनामा सबैको पहुँच पुर्याउनुपर्ने भन्दै अझैपनि राष्ट्रिय तहमा यसबारे स्पष्ट धारणा आउन नसकेको बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले उल्लेखित लक्ष्यहरु कहिलेसम्म हासिल गर्न सकिने भनेर स्पष्ट किटान गर्नुपर्ने बताए । उनले राष्ट्रिय आधारभूत सर्भे नै नभएको हुँदा अहिले नै हतार गर्न नहुनेमा जोड दिए ।

प्रमुख आयुक्त बास्कोटाले लक्ष्य हासिल गर्नको लागि सरोकारबाला पक्षहरु एकजुट हुनुपर्ने र आफ्नो भूमिकाअनुसारको काम गर्नुपर्ने बताए ।


क्लिकमान्डु