तिहारमा बत्तीले घरमात्रै झिलिमिली बनाउँदैन, एकै जनाले कमाउँछन् १ लाखसम्म



काठमाडौं । तिहार भन्ने वित्तिकै सबैको मनमा झिलिमिली भन्ने कुरा आउँछ । तिहारको समयमा हरेक घर झिलिमिली बत्तीले सजिएको हुने गर्छ । आजभोलि तिहारका लागि भनी व्यावसायीहरुले फरक फरक डिजाइनका झिलिमिली बत्ती ल्याउने गरेका छन् ।

तिहार मुखैमा आइपुग्दा झिलिमिली बत्ती व्यापार व्यवसाय गर्ने व्यापारीहरु बत्ती बनाउनमा व्यस्त छन् । तिहारको समयमा धेरै प्रयोग हुने झिलिमिली बत्तीहरु घर–घरमा लगाउने काम गर्दौ आएका सन्जय कुमार सिंह अरु बेला ठेक्का लिएर नयाँ पुराना सबै घरमा बत्ती बिजुली फिट गर्ने काम गर्छन् ।

१७ वर्षदेखि यही काम गर्दौ आएका सिंहले यो वर्ष तिहारकै लागि भनी दशैंलत्तै बत्ती बनाउने काम सुरु गरेका थिए । तिहारको बेला उनी ४० देखि ५० हजार झिलिमिली बत्ती बनाउने गर्छन् । दशैंको बेला १५ देखि २० घरमा झिलिमिली बत्ती राख्ने गरेका सिंह तिहारको समयमा मात्र १ लाख बराबर कमाइ हुने बताउछन् ।

अरु बेला महिनाको ४० देखि ५० हजार रुपैयाँ कमाइ गर्ने गरेका सिंह तिहारको बेला भने अनफूलाई निकै फाइदा हुने गरेको बताउछन् ।

‘कहिले काही काम नहुँदा त महिनामा ३० हजार पनि मुश्किलले कमाइ हुन्छ, तिहारको बेलामा भने १ लाख रुपैयाँ जति कमाइन्छ,’ उनी भन्छन् ।

यस्तै असनमा अरुबेला कुर्था व्यापार गर्दै आएका डिकेश श्रेष्ठ तिहार नजिकिएसँगै आफ्नो पसलमा झिलिमिली बत्ती राख्न थालेका छन् । उनको पसलमा ६० रुपैयाँ पर्ने चिल्ली लाइटदेखि १ हजार २ सय रुपैयाँ पर्ने वाटर फल लाइट बिक्रीका लागि राखिएको छ । यो वर्ष तिहारको समयमा २ देखि ३ लाख रुपैयाँसम्मको व्यापार हुने उनको अनुमान छ ।

झिलिमिली सामानहरु राखिएको असनमै रहेको अनिसा महर्जनको होलसेल पसलमा ८० रुपैयाँ पर्ने चिल्ली लाइटदेखि १ हजार ५ सय रुपैयाँ पर्ने डिस्को लाइटलगायतका सामाग्रीहरु रहेका छन् । यहाँ भगवानको बत्ती बल्ने फोटोहरु पनि राखिएको छ । यस्ता फोटोहरुको मूल्य ३ सय ५० रुपैयाँदेखि ८ रुपैयाँसम्म पर्ने गरेको महर्जनले बताइन् । अघिल्लो वर्ष दिनको ३० हजार रुपैयाँ जति व्यापार गरेकी महर्जन यो पटक त्यो भन्दा धेरै व्यापार हुनेमा विश्वस्त छिन् ।

यस्तै असनको महाँबौद्धमा तिहारकै लागि झिलिमिली सामानहरु व्यापार गर्न बसेका छोटु कुमारको पसलमा ६० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्मको झिलिमिली बत्तीका सामाग्रीहरु रहेका छन् । अघिल्लो वर्षको तिहारमा २ लाख रुपैयाँभन्दा बढी कमाइ भएको बताउने कुमार भन्छन् ‘२ लाखको सामान राखेपछि ३ लाख जति पनि उठेन भने के व्यापार हुन्छ ।’

असनको केउरामा यस्तै झिलिमिली बत्ती व्यापार गर्दै बसेकी लक्ष्मी सुवालको पसलमा ८० रुपैयाँदेखि १ हजार ७ सय रुपैयाँसम्मको डिस्को लाइट राखिएको छ । यहाँ २ सय २० रुपैयाँ पर्ने इलेक्ट्रिक दियो पनि राखिएको छ । अरु समय फुर्सदमा बस्ने गरेकी सुवाल तिहारको बेला दिनको २० देखि ३० हजार रुपैयाँसम्मको व्यापार हुने बताउछिन् ।


क्लिकमान्डु