लक्ष्मीपूजाको दिन लोडसेडिङ होला कि नहोला ?



काठमाडौं । आगामी लक्ष्मीपूजाको दिन विद्युत् माग १ हजार ५ सय ५० मेगावाट पुग्ने भएको छ ।

गत वर्षको तुलनामा १०० मेगावाट विद्युत् बढी माग भई उक्त बिन्दुमा पुग्ने नेपाल विद्युत् प्राधिकरणले आंकलन गरेको छ ।

गत वर्ष लक्ष्मीपूजाको दिनदेखि नै लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले यस पटक थप १०० मेगावाट बढी माग हुने विद्युत् व्यवस्थापनका लागि समेत आवश्यक तयारी गरिरहेको छ ।

‘कुनै पनि स्थानमा लोडसेडिङ हुन नदिनका लागि सबै प्रकारका उपाय अपनाउन लागेका छौ, सफलता हाँसिल हुन्छ भन्नेमा हामी विश्वस्त छौ’ प्राधिकरणको भारप्रेषण केन्द्रले भनेको छ ।

भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले मागअनुसार विद्युत् उपलब्ध गराउन आवश्यक तयारी भएको बताए ।

प्रसारण र अन्य प्राविधिक समस्याले केही स्थानमा विद्युत् उपलब्ध हुन नसके मात्रै तर अन्य कुनै पनि स्थानमा भने समस्या नआउने केन्द्रको विश्वास छ ।

प्राधिकरणले थप विद्युत् उपलब्ध गराउन पिकिङ प्रकारका आयोजनालाई साँझ मात्रै चलाउने तयारी गरेको छ । यस्तै कुलेखानी विद्युत् गृह पनि चलाउनेछ । हाल सो विद्युत् गृह चलाइएको छैन । यस्तै विभिन्न नाका भएर भारतबाट ४०० मेगावाट विद्युत् आयात गरिनेछ ।

आन्तरिक रुपमा निजी तथा प्राधिकरणका सबै आयोजनालाई पूर्ण क्षमतामा चलाउने तयारी गरिएको छ । यस्तै १४ मेगावा क्षमताको हैटौडाको डिजेल प्लान्ट समेत चलाइनेछ ।

कतै पनि असुविधा नहोस् भनेर सम्पूर्ण तयारी गरिएको केन्द्रको भनाइ छ ।


क्लिकमान्डु