प्रदेश नम्बरका आधारमा इम्बोस्ड नम्बर प्लेट राख्न प्रस्ताव




काठमाडौं । यातायात ब्यवस्था विभागले प्रदेश नम्बरका आधारमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो खुलाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।

विभागले भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालय मार्फत यस्तो प्रस्ताव पठाएको हो । यसअघि नै गैरसंबैधानिक संरचना अन्चलको नामबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागेको विभागले अब भने प्रदेश नम्बरको आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो खोजेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले प्रदेश नम्बरका आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको जानकारी दिए ।

‘प्रदेश नम्बरका आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि अनुसूची संसोधन गर्न मन्त्रिपरिषदमा फाइल पठाइएको छ, मन्त्रिपरिषदबाट संसोधन प्रस्ताव पास भएसँगै प्रदेश नम्बरका अधारमा पुन इम्बोस्ड नम्बर जडान प्रक्रिया अगाडि बढ्छ,’ महानिर्देशक भट्टराईले क्लिमाण्डूसँग भने ।

देश संघीयतमा गएपनि यातायात ब्यवस्था विभागले पुरानो संरचना अनुसार अन्चलकै नामबाट नम्बर प्लेट जडान गर्न लागेको थियो । हाल प्रदेशको नामाकरण गरिएको छैन । नामाकरण नभएकाले अंकका (१ देखि ७) आधारमा प्रदेशको पहिचान गर्ने गरिएको छ । प्रदेश सभाको पहिलो बैठकले प्रदेशको नामाकरण गर्ने ब्यवस्था संविधानमा छ ।

गत भदौ १५ गते भौतिक पूवाधार तथा यातायात मन्त्री बीरबहादुर वलायरले औचपारिक रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कामको थालनी गरेका थिए । सो समय अञ्चलको नामका आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको थियो । गैरसंबैधानिक संरचनालाई आधार मानेर इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको बिषयमा क्लिकमाण्डूले लगातार समाचार प्रकाशित गरेको थियो ।

नेपालको संविधानमा अञ्चलको व्यवस्था नभएकाले गत भदौ २१ गते व्यवस्थापिका संसदको विकास समितिले पनि इम्बोस्ड नम्बर प्लेट तत्काकाल कार्यान्वयन गर्न रोक लगाएको थियो । संचार माध्यमको निरन्तर खबरदारी र संसदीय समितिको निर्देशनपछि विभागले तत्कालको लागि अञ्चल संरचनाका आधारमा नम्बर प्लेट जडानलाई स्थगीत गरेको थियो ।

विकास समितिले जडानमा रोक लगानु पुर्व यातायात व्यवस्था विभागका केही गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको थियो ।

विकास समितिको सो निर्णय पछि अञ्चलको आधारमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया स्थगित गरिएको छ । अहिले प्रदेश नम्बरका आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजिए पनि त्यो कार्य पनि ब्यवहारिक हुने छैन ।

सरकारले आगामी मंसिर १० र २१ गते प्रदेशसभाको निर्वाचन गर्ने गरी मिति तय गरिसकेको छ । प्रदेशसभाको निर्वाचनपछि पहिलो बैठकले प्रदेशको नामाकरण गर्ने ब्यवस्था संबिधानमा छ । प्रदेशसभाले सम्बन्धित प्रदेशको नाम राखिसकेपछि अहिलेको जस्तो नम्बरवाला प्रदेश हुने छैनन् । यसैकारण विभागले अहिले गरेको गृहकार्य पनि ब्यवहारिक नहुने भएको हो ।

यसरी जडान हुन्छ ‘इम्बोस्ड’
एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रर्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्ने हो ।

यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने हुन्छ । परिवर्तन गर्नु परेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ । सवारीसाधन दुर्घटनामा परेर टुट्फुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ ।

बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटोर टाइगरल ५ वर्षभित्र देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडानका लागि अनुमति पाइसकेको छ ।


क्लिकमान्डु