तिहारमा चेलीलाई उपहारः ५ हजारदेखि डेढलाखसम्मका कपडा




काठमाडौं । तिहार एउटा यस्तो पर्व हो, जहाँ रंग र फूलको निकै महत्व हुन्छ । यो रंगिन चाडमा सबै चेलीहरु आफू पनि फूलझै सुन्दर बनेर सजिने गर्छन् । तिहार दिदी–भाइ, दाजु–बहिनी सबैको लागि असाध्यै महत्वपूर्ण चाड हो ।

तिहारमा कस्तो लुगा लगाउने, कुन लुगा लगाउँदा आफूलाई सुट गर्छ भन्ने कुराले चिन्तित हुनुहुन्छ भने तपाइलाई हामी केही सहयोग गर्दैछौं । हामीले तपाइको सरलताको लागि र जानकारीको लागि कहाँ कस्तो कपडा कति मूल्यमा पाइन्छ भनेर यो समाग्री प्रस्तुत गरेका छौं ।

तिहारमा तपाइलाई कस्तो रंग र कपडाले सुट गर्छ भनी केही बुटिकका ड्रेस डिजाइनरहरुसँग पनि सल्लाहा लिएका छौं ।

ललितपुरको कुपन्डोलमा रहेको बिबा फेसन बुटिकमा १० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कुर्था, गाउन, लेहेङगा, सारी र टप्स छ । यहाँ नर्मल कुर्था सलवारहरु ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा पाइन्छ ।

लेहेङगा १६ हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको विक्रीमा राखिएको छ । सारी ८ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्ममा खरिद गर्न पाइन्छ । टप्स २ हजार रुपैयाँदेखि ६ हजारसम्मका पाइन्छन् ।

तिहारको बेला बढीजसो महिलाहरुले कुर्था सलवार, टप्स र लेहेङगा नै किन्ने गरेको विक्रेता सुनिता सुनारले बताइन् । तिहारमा प्रायः महिलाहरुले भारी जडित कपडाको प्रयोग नगरी हलुका कपडा लगाउने भएकाले महिलाहरुले तिहारमा १५ हजारसम्मको कपडा किन्ने गरेको सुनारको भनाइ छ । यहाँ अर्डर अनुसार सिलाउँदा सस्तोमा १५ हजार रुपैयाँसम्मको कपडाको अर्डर आउने गरेको उनको भनाइ छ । यस्तै तिहारकै समय भएर दाजुभाइहरुले पनि आफ्ना दिदी बहिनीहरुलाई टप्स, कुर्था १५ हजार रुपैयाँसम्मको किन्ने गरेको उनको अनुभव छ ।

लामो समयदेखि बुटिकमा बस्दै आएकी सुनार भन्छिन् ‘तिहार हामी सबैको ट्रेडिसनल चाड भएकोले तिहारमा आफुलाई कम्फट हुने खालका फेस्टिभ कलरका कुर्था तथा गाउनले नै महिलाहरुलाई राम्रो देखिन्छ ।’

यस्तै कुपन्डोलमै रहेको मेहेर कलेक्सनमा तिहारको समयको पनि प्राय महिलाहरुले गाउन र पार्टिवेरहरु नै किन्ने गरेका रहेछन् । सो कलेक्सनलाई २० वर्षदेखि चलाउँदै आएकी रजना शाक्य भन्छिन् ‘हाम्रोमा तिहारको समयमा खासै धेरै व्यापार हुन्न, एक जनाले ३ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको कपडा किन्छन् ।’

सो कलेक्सनमा आउने दाजुभाइहरुले आफ्नो दिदी बहिनीहरुको लागि तिहारमा २ हजार ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको कपडा किन्ने गरेको उनको भनाइ छ ।

शाक्य भन्छिन् ‘तिहार सबै नेपालीको पावन चाड भएको हुनाले तिहारमा महिलाहरुले रेडिस डार्क रंगको लेहेङगा लगाउँदा सारै राम्रो देखिन्छ ।’

कुपन्डोलकै इभा फेसनमा भने तिहारकै लागि भनि धेरै जसो महिलाहरुले वानपिस, अनारकली, डिजाइनर टप्स तथा लेहेङगा खरिद गरेका छन् । यहाँ रहेका कपडाहरु १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

याहाँ आउने दाजु भाइहरुले प्राय आफ्नो दिदी बहिनीहरुको लागि कुर्था पिस, अनारकली तथा लेहेङगा १० हजार रुपैयाँदेखि १६ हजार रुपैयाँसम्मको खरिद गर्ने गरेका छन् ।

इभा फेसनकी कोपिला राई भन्छिन् ‘महिला तथा युवतीहरुलाई तिहारको बेला पिङ्क र पिच कलरको अनारकली तथा आफूलाई कम्फट हुने टप्सहरु लगाउदा राम्रो देखिन्छ ।’

ट्रेन्ट फेसन बुटिकमा १५ हजार रुपैयाँदेखि ७८ हजार रुपैयाँसम्मको कपडाहरु राखिएको छ । यहाँ आउने प्राय ग्राहकहरुले तिहारका लागि १६ हाजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मकै लेहेङगा र गाउन किन्ने गरेका छन् ।

यहाँ आउने दाजु भाइहरुले प्राय आफ्नो दिदी बहिनीहरुको लागि उपहारका रुपमा लेहेङगा र गाउन किन्दिएका छन् । उनीहरुले आफ्नो दिदी बहिनीका लागि १६ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको नै लेहेङगा तथा गाउन किन्ने गरेको यहाँकी विक्रेता निकिता श्रेष्ठले बताइन् ।

उनी भन्छिन् ‘तिहारको समयमा महिलाहरुले भाइपुजा तथा लक्ष्मी पुजा जस्ता धेरै काम गर्नु पर्ने हुँदा सिम्पल खाल्का कुर्था लेहेङगा तथा टप्स लगाउदा राम्रो देखिने छ । तिहार कलरफूल हुने भएकाले कलरफूल कपडा लगाउँदा सबै महिला तथा युवतीलाई राम्रो देखिने छ जस्तो लाग्छ ।’

यसैगरी आकर्षण बुटिकमा यो तिजका लागि भनी धेरै जसो महिलाहरुले सारी र लेहेङगा नै किन्ने गरेको पाइएको छ । यहाँ १५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मको सारी रहेको भने २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको लेहेङगा रहेको छ ।

यहाँ भने तिहारको बेला दाजुभाइहरुले खासै कपडाहरु किन्न आउने गरेको पाइएन । सो बुटिककी पिनल मगरका अनुसार तिहारको बेला यहाँ कम्तीमा पनि ४० हजार बढीको व्यापार हुने गर्छ ।

मगर भन्छिन् ‘तिहारमा सिम्पल खाल्का गोल्डेन, रेड तथा मरुन कलरका सारी तथा लेहेङगाले महिलाहरुलाई आर्कषक देखिन्छ ।’


क्लिकमान्डु