भारतका १० ठूला जलविद्युत् आयोजना, कुनको कति उत्पादन ?




काठमाडौं । विश्वमा ठूला बाँध बनाएर जलविद्युत् उत्पादन गर्ने मुलुकमा भारत तेस्रो स्थानमा रहेको छ । चीन, रसिया पछि ठूला बाँध बनाउनेमा भारतकै स्थान आउने गरेको छ ।

पर्यटकीय आर्कषणको रुपमा समेत पछिल्लो समयमा स्थापित भारतको उत्तराञ्चल प्रदेशको तेहरी बाँध चर्चाको शिखरमा छ ।
ठूला बाँध बनाएर भारतले १३ हजार ९०१ मेगावाट क्षमताका ठूला आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । बढ्दो जनसंख्या र नागरिकको बढ्दो चाहनालाई सम्बोधन गर्ने र पानी उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएका त्यस्ता ठूला भौतिक संरचनाले आवश्यकतालाई पनि सम्बोधन गर्ने दावी गरिएको छ ।

वर्षाको पानी जम्मा गर्न, बाढी पहिरो नियन्त्रण गर्न, खानेपानीको व्यवस्था गर्न , सिंचाइ सुविधा तथा अन्य भौतिक संरचना निर्माणका लागि पानीको आवश्यकता बढ्दै गएको छ ।

भारतको आर्थिक विकास र विस्तारका लागि सहायक सिद्ध मानिएका ठूला बाँधयुक्त जलाशय आयोजनाले खाद्य उत्पादन समेत बढाउन सहयोग पुर्याएको छ ।

भारतको अरुणाञ्चल प्रदेशमा मात्रै एनटिपिसिले मात्रै ठूलो बाँधयुक्त संरचना बनाएर १० हजारदेखि १२ हजार मेगावाट क्षमताको आयोजना सम्पन्न गर्ने घोषणा मात्रै गरेको छैन, निर्माण समेत सुरु गरेको छ । सो आयोजना दक्षिण एसियामा हालसम्मकै ठूलो आयोजनाको रुपमा लिइएको छ ।

नेपालको कर्णाली चिसापानी आयोजना नबन्दासम्म उक्त आयोजना नै दक्षिण एसियाको सबैभन्दा ठूलो आयोजनाको रुमपा रहनेछ । कर्णाली चिासापानी आयोजनाको क्षमता १० हजार ८०० मेगावाट रहेको छ ।

तेहरी बाँध

भारतको उत्तराखण्डमा रहेको तेहरी बाँध नै भारतको अग्लो बाँध हो भने विश्वको दशौ अग्लो । ढुंगा, बालुवा र माटोको मिश्रणबाट निर्माण गरिएको उक्त बाँध भागिरथी नदीमा निर्माण गरिएको छ । उक्त बाँधको उचाई २६०.५ मिटर रहेको छ । उक्त बाँधबाट कुल २ हजार ४०० मेगावाट विद्युत् उत्पादन गरिएको छ । तीन फरक फरक आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन गरिएको छ ।

कोयाना बाँध

भारतको दोस्रो ठूलो जलाशययुक्त आयोजनाको रुपमा यस आयोजनालाई लिइन्छ । सो आयोजनाबाट हाल १ हजार ९६० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । चार चरणमा निर्माण गरिएका आयोजनाको सम्पूर्ण संरचना जमिनमुनी रहेको छ ।

सिरिसिलम बाँध

भारतको आन्ध्र प्रदेशको कृष्णा नदीमा रहेको उक्त बाँध भारतको तेस्रो ठूलो बाँध संरचना भएको आयोजना हो । सो आयोजनाबाट हाल १ हजार ६७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

नाफ्था झाँक्री बाँध

भारतको हिमाञ्चल प्रदेशमा अवस्थित सतलज नदीमा निर्माण भएको उक्त बाँध भारतको चौथो ठूलो बाँध हो । सो आयोजनाबाट हाल १ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने गरिएको छ ।

सरदार सरोवर बाँध

भारतको पाँचौ ठूलो बाँधको रुपमा रहेको सरदार सरोवर बाँध नर्मदा नदीमा अवस्थित छ । नर्मदा उपत्यकामा निर्माण गरिएको उक्त आयोजनाबाट १ हजार ४५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

भार्खा नाग्ला बाँध

भारतको हिमाञ्चल प्रदेशमा निर्माण गरिएको उक्त आयोजना भारतको छैटौ ठूलो बाँध संरचना भएको परियोजना हो । हरियाणा, पञ्जाब र चन्डीगड आसपासको पानी जम्मा गर्ने लक्ष्यका साथ निर्माण गरिएको आयोजनाबाट १ हजार ३२५ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

कार्चम वाङ्तो बाँध

भारतको सातौ ठूलो बाँध हो । हिमाञ्चल प्रदेशमा निर्माण भएको सोआयोजना सतजल नदीमा अवस्थित छ । सो आयोजनाबाट १ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ ।

इन्डिस्गर बाँध

भारतको आठौ ठूलो बाँध संरचना भएको आयोजना मध्य प्रदेशमा अवस्थित छ । नर्मदा नदीको नर्मदानगरमा निर्माण गरिएको उक्त आयोजनालाई बहुउद्देश्यिय आयोजनाको रुमपा पनि लिने गरिन्छ । उत्तः आयोजनाबाट १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरिन्छ ।

नार्गाजुना बाँध

भारतको नवौ ठूलो बाँध संरचनाको रुपमा लिइने नार्गाजुना बाँध कृष्णा नदीमा अवस्थित छ । आन्ध्र प्रदेशमा आयोजना स्थल रहेको सो आयोजना निर्माण कार्य सन् १९५५ मा सुरु भएर १९६७ मा सम्पन्न भएको थियो । सो आयोजनाबाट ८१६ मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

इन्दुकी बाँध

भारतको दशौ ठूलो बाँधको रुमपा लिइने इन्दुकी केरला राज्यमा अवस्थित छ । केरला राज्यको केरला इलेक्ट्रोसिटी बोर्डको स्वामित्वमा रहेको आयोजनाबाट हाल ७८० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।


क्लिकमान्डु