तिहारको मुखैमा आकाशियो तरकारीको भाउ, २५ रुपैयाँको तितेकरेला ७५ रुपैयाँ पुग्यो




काठमाडौं । तिहार नजिँकिएसँगै कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य आकाशिएको छ । कालिमाटीमा रहेका ३ सय ५६ वटै पसलहरुमा रहेका गोलभेडा, आलु, प्याज, काउली, बन्दा, बोडी, घिउसिमी, तिते करेला, लौका, भिण्डी, बरेला र परवलको मूल्य बढेको हो ।

तर, कालिमाटी फलफूल तथा तरकारी बजारका उप निर्देशक विनय श्रेष्ठ भने तरकारीमा सामान्य मात्र मूल्य वृद्धी भएको बताउँछन् । उनका अनुसार सबै उत्पादन बजारमा आउन बाँकी भएको र माग ज्यादा आपूर्ती कम भएको कारणले तरकारीमा मूल्य वृद्ध हुन गएको हो ।

श्रेष्ठ भन्छन् ‘यो तरकारी उत्पादनको सिजन पनि हैन, केही समय बाढीले पनि समस्या ल्यायो, समग्रतामा नै यो बर्ष तरकारीको मूल्य अलि बढेको नै हो ।’

एक साता अघि ४१ रुपैयाँ प्रतिकेजी रहेको प्याजको मूल्य भारतबाट नै बढेर आएको उनले जानकारी दिए । अहिले प्याजको मूल्य प्रति केजी ६० रुपैयाँ पुगेको छ ।

यस्तै साता अघि २६ देखि ४५ रुपैयाँ प्रतिकेजी कालिमाटीमै विक्री भैरहेको गोलभेडाको मूल्य अहिले प्रतिकेजी ७० रुपैयाँ पुगेको छ । बोडी प्रतिकेजी ४८ रुपैयाँ थियो भने अहिले बढेर प्रतिकेजी १ सय रुपैयाँ पुगेको छ । ४२ रुपैयाँको घिउसिमी अहिले प्रतिकेजी १ सय रुपैयाँमा विक्री भैरहेको छ ।

झन तिते करेलाको मूल्यमा त दोब्बर बढी मूल्य वृद्धी भएर आएको छ । तिते करेलामा प्रतिकेजी ५० रुपैयाँ वृद्धी भएको हो । एक साता अघि कालिमाटी बजारमा नै २५ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको तिते करेला अहिलो प्रति केजी ७५ रुपैयाँ पुगेको छ ।

झन तिते करेलाको मूल्यमा त दोब्बर बढी मूल्य वृद्धी भएर आएको छ । तिते करेलामा प्रतिकेजी ५० रुपैयाँ वृद्धी भएको हो । एक साता अघि कालिमाटी बजारमा नै २५ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको तिते करेला अहिलो प्रति केजी ७५ रुपैयाँ पुगेको छ ।

३५ रुपैयाँ प्रतिकेजीको परवल हाल बजारमा ५५ रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । साता अघि ५८ देखि ६२ रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको भिण्डी अहिले कालिमाटी बजारमा प्रतिकेजी ९० रुपैयाँमा विक्री भैरहेको छ । काउली ५० रुपैयाँबाट ६५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

च्याउ, लौका र बरेलामा भने प्रतिकेजी १० रुपैयाँ मूल्यवृद्धी भएको छ । साता अघि १ सय १० रुपैयाँमा कालिमाटीमै विक्री भैरहेको च्याउ अहिले १ सय २० रुपैयाँमा पुगेको छ । ४० रुपैयाँको लौका अहिले ५० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । ५० रुपैयाँ प्रतिकेजीको बरेला अहिले ६० रुपैयाँ पुगेको हो । ३० रुपैयाँ प्रतिकेजी आलु आज प्रतिकेजी ३५ रुपैयाँमा विक्री भैरहेको छ ।


क्लिकमान्डु