बिक्री हुँदैन अचेल कालो सुन अर्थात् अलैंची, किसानलाई चाडबाड खर्च जुटाउनै मुस्किल



तेह्रथुम । कालो सुनको रुपमा परिचित अलैँचीको कारोबार ठप्प भएपछि पुर्वका किसानहरुलाई चाडबाडका लागि खर्च जुटाउन मुस्किल भएको छ ।

मूल्यमा निकै कमी आएपछि गत वर्षदेखि नै कारोबार ठप्प पारेका गाउँका व्यापारीले मूल्य अझै घट्न सक्ने भन्दै अलैँची खरिद गर्न चासो देखाएका छैनन् ।

दशैँ तिहारजस्ता चाडबाडको खर्च धान्न अलैँची बिक्री गर्न चाहने किसानले गाउँबाटै अलैँची बेच्न पाएका छैनन् । गाउँका व्यापारीले बजारमा चलेको भाउमा समेत अलैँची लिन नमानेपछि व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने किसानको बाध्यता छ ।

गत वर्ष यस याममा अलैँची प्रतिकिलो २५०० रुपैयाँमा कारोबार भएको थियो भने यसवर्ष मूल्य घटेर प्रतिकिलो ६५० रुपैयाँ पुगेको छ ।

मूल्य अझै घट्ने भन्दै व्यापारीले अहिलेको बजारभाउमा समेत अलैँची खरिद गर्न मानेका छैनन् । घरखर्च चलाउन समस्या परेका किसानले व्यापारीले भनेकै मूल्यमा अलैँची बिक्री गरिरहेका आठराई गाउँपालिका–४, इवाका शेरबहादुर इङ्नामले बताए ।

समय बित्दै जाँदा मूल्य बढ्ने आशामा रहेका कतिपय किसानले गत वर्षको अलैँचीसमेत बिक्री गरेका छैनन् । यस वर्षको नयाँ फसल पनि बिक्री गर्न शुरु भइसकेको छ ।

आर्थिक संकटमा परेका र थोरै मात्रै उत्पादन हुने किसानले सस्तोमै बिक्री गरिरहेका छन् । तर धेरै उत्पादन हुने र व्यावसायिक अलैँचीखेती गरिरहेकाले भने यस वर्षको अलैँची बिक्री गरेका छैनन् ।

‘दशैँ खर्च धान्न २० किलो अलैँची लिएर बजार पुगेँ, तर व्यापारीले किन्नै मानेनन्”, इङ्नामले भने, ‘नबेचौँ, घर खर्च चाहिएको छ, बेचौँ भने व्यापारीले बजारभाउभन्दा पनि कम मूल्य मात्रै दिन्छु भने ।” अन्ततः कम मूल्यमै अलैँची बिक्री गरेर फर्किएको उनले सुनाए ।

दशैँअगावै धेरै किसानले बजारभाउभन्दा कम मूल्यमा अलैँची बिक्री गरेको आठराई गाउँपालिका–४, इवाका राम इङ्नाम बताउनुहुन्छ । व्यापारीले गत वर्ष बिक्रीका लागि महँगो मूल्य तिरेर खरिद गरेको अलैँची अहिलेसम्म थन्किएको छ ।

अलैँचीको मूल्य घटेपछि व्यापारी मारमा परेका छन् । अझै मूल्य घट्ने डरले गाउँका साना व्यापारीले खरिद गर्न मानेका छैनन् ।

किसानले चाडबाडको खर्च जुटाउन बिक्री गर्न लगेको अलैँची व्यापारीकै मोलमा मात्रै बिक्री गर्न पाएका लालीगुराँस नगरपालिका दाँगपाका किसान रमेश बस्नेतले बताए ।

अलैँचीको उचित मूल्य पाइने आशले उत्पादन भण्डारण गरेर पर्खिरहेका किसान निरन्तर मूल्य घटेर जाँदा मारमा परेका छन् ।

करिब एक दशकयता निरन्तर मूल्य उकालो लाग्दै आएको अलैँचीको खेती गर्ने किसानको संख्या पनि उसैगरी घट्दै गएको छ । मूल्यमा निरन्तर कमी आएपछि खेतीयोग्य जमिन नै मासेर अलैँची रोपेका किसान अलमलमा परेका छन् ।

दुई वर्ष पहिले १० रोपनी जमिनमा लगाएको खेतीबाट उत्पादित तीन मन अलैँची प्रतिमन रु एक लाखका दरले बिक्री गरेको छथर गाउँपालिकाका लोकमान लिम्बूले बबताए । अलैँचीमा लगाएको लगानी नै नउठ्ला कि भन्ने त्रासले सताएको  छ ।

किसानले धान, मकैजस्ता खाद्यान्न बाली लगाउने जमिनमै पनि अलैँचीखेती लगाएका छन् । तर मूल्यमा आएको कमीले किसान समस्यामा परेका छन् । बजारभाउ अहिलेकै अवस्थामा कायम रहे अलैँचीखेती नै मासेर पुरानै खेती गर्ने सोच कतिपय किसानको छ ।

बजार र मूल्यको अवस्था यस्तै रहिरहे बरु धान, मकैको खेती थाल्ने आठराई गाउँपालिका-२, खाम्लालुङका सुमन खापुङले बताए ।

‘वर्षभरि खान पुग्ने खेतबारी मासेर अलैँची रोपियो, त्यसमाथि सिँचाइलगायतका काममा ठूलै खर्च छ”, उनले भने ‘तर यही अवस्था रहिरहे ऋण लाग्छ ।’

अलैँचीको कारोबारले गाउँका कतिपय साना व्यापारी पनि मारमा परेका छन् । प्रतिमन ९४० किलो ८० हजार रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरेर राखिएको अलैँचीको मूल्य क्रमशः घट्दै गएपछि गोदाममै थन्काएर राख्नुपरेको व्यापारी नरप्रसाद सापकोटाले बताए ।

‘बेचौँ ठूलो घाटा हुन्छ, राखौँ त गोदाममै ढुसी पलाएर कुहिने भयो,’ उनले भने ।

जिल्लाका आठराई गाउँपालिकाको इवा, ह्वाकु, सक्रान्ति, चुहानडाँडा र खाम्लालुङ तथा फेदाप गाउँपालिकाका सम्दु, इसिवु, जलजले र ओयाक्जुङ गाउँमा अलैँची खेती गर्ने गरिएको छ ।

मेन्छ्यायेम गाउँपालिकाका मोराहाङ, श्रीजुङ र पौठाक, म्याङ्लुङ नगरपालिकाको आम्बुङ, साब्ला, जिरीखिम्ती र पिप्ले, लालीगुराँस नगरपालिकाको दाँगपा, वसन्तपुर, फुलेक, सोल्मा र सुङ्नाम तथा छथर गाउँपालिकाका आङ्दिम, हमरजुङ, सुदाप र फाक्चामाराका केही क्षेत्रमा पनि अलैँचीखेती गरिँदै आएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

जिल्लाको ७२३ हेक्टर जमिनमा अलैँची खेती गरिँदै आएको छ । रासस


पुष्प दुलाल