५ करोड ३५ लाख लगानीका ३ चलचित्र भिड्दै



काठमाडौं । आजदेखि नेपालीको अर्को महत्वपूर्ण चाड तिहार सुरु भएको छ । तिहारलाई बत्ती र फूलको पर्वको रुपमा लिइन्छ । यस पर्वलाई भातृत्व र मैत्रीको पर्वको रुपमा पनि लिने गरिन्छ ।

यसै अवसर पारेर नेपाली चलचित्रकर्मीले पनि नयाँ फिल्म चलाउने तयारी गरेका छन् । तिहारको समयमा व्यापार पनि बढी हुने भएकाले चलचित्रकर्मी मरिहत्ते गरेर चलचित्र चलाउने तयारी गरेका छन् ।

कात्तिक १ गतेदेखि दिवाकर भट्टराईले निर्देशन गरेको ऐश्वर्य चल्दैछ । १ करोड ३५ लाख रुपैयाँमा निर्माण गरिएको यो चलचित्र भोलीबाट हलमा लाग्दैछ । सो चलचित्रमा रमेश उप्रती, केकी अधिकारी दिपीका प्रसाईलगायत कलाकारको अभियन रहेको छ ।

लामो समय अमेरिका भासिएका नायक रमेश उप्रेतीको लगानी रहेको उक्त चलचित्रलाई उनले आफ्नो महत्वाकाक्षी प्रोजेक्टको रुपमा समेत प्रचार गराएका छन् ।

यस्तै कात्तिक २ गते बिहिबारदेखि रेखा थापाको रुद्रप्रिया चल्ने भएको छ । सुदिप भूपाल सिंह निर्देशक रहेको उक्त चलचित्र चलाउने वा नचलाउने भन्ने विषयमा भने हलवाला र निर्माताबीच आजसम्म पनि कुरा मिल्न सकेको छैन । यो चलचित्र २ करोड लगानीमा निर्माण भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रकी निमात्री समेत रहेकी थापाले हल र डिस होममा एकैसाथ चलचित्र रिलिज गर्ने सार्वजनिक गरेपछि हलवालाले चलचित्र नचलाउने भन्दै दबाव दिएका थिए ।

रुद्रप्रियालाई एसिड आक्रमणमा परेकी पीडित युवतीको कथाको रुपमा लिइएको छ । रुद्रप्रियाको अर्को महत्वपूर्ण पक्ष भनेको बोलचाल समेत छाडेर दुई कित्तामा लागेका रेखा थापा र नायक आर्यन सिग्देलबीच पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । दश वर्षसम्म खोलाका दुई किनार जस्ता देखिएका रेखा र आर्यनको जोडीलाई उक्त चलचित्रमा देख्न सकिने छ ।

यस्तै कात्तिक ३ गते अर्को चलचित्र कृ पनि हलहरुमा जाने भएको छ । यो चलचित्र करिब २ करोड लागमा निर्माण भएको निर्माण पक्षले जनाएको छ । नयाँ निर्देशक सुरेन्द्र पौडेलको उक्त चलचित्रमा अनमोल केसी, अदिति बुढाथोकी, लक्ष्मी गिरि, सरोज खनाल, रुपाना रानालगायतको अभिनय रहेको छ ।


क्लिकमान्डु