जहाज कुर्नेको ताँती, पौने घन्टाको यात्रामा ४ घन्टा सकस



काठमाडौं । काठमाडौंको आकाशमा ट्राफिक जाम नौलो होइन, विगतमा खराब मौसमले हवाई उडान रद्द तथा समय हेरफेर हुने गरेको थियो ।

तर पछिल्लो समय विमानस्थल क्षमता थोरै तर एयरलाइन्स र यात्रुको चाप धेरै हुदाँ उड्ने समय भन्दा घन्टौ ढिलो हुने गरेको छ । भने ४५ मिनेट देखि १ घन्टासम्म जहाज आकाशमै होल्ड हुने गरेको छ । जसका कारण यात्रु र एयरलाइन्स कम्पनीहरु मारमा परेका छन् ।

काठमाडौंको आकाशमा अधिक ट्राफिक जाम भएपछि सवै एयरलाइन्सहरुले समयमा उडान भर्न पाएका छैनन् । तर यात्रुको गाली भने एयरलाइन्स कम्पनीको खानु पर्ने अवस्था रहेको छ ।

काठमाडौंको आकाशमा हुने ट्राफिक जामले उडान रद्द तथा समय हेरफेर हुँदा लुक्ला, पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवालगायत आन्तरिक विमानस्थलमा सयौं यात्रुले सास्ती खेप्दै आएका छन् ।

लामो समय कुरेपछि बल्ल उडान रद्द भएको जानकारी पाउने, विमानस्थलमै घन्टौं कुर्नुपर्ने लगायत समस्या यात्रुले भोग्दै आएका छन् ।

उडान रद्द हुँदा होटल फर्कनुपर्ने समस्या एकातिर छ भने ‘कनेक्टिङ फ्लाइट’ हुने विदेशी पर्यटकले हतारमा सवारीसाधन रिजर्भ गरेर राजधानी आउजाउ गर्नुुपर्ने बाध्यता छ ।

पौने घन्टाको यात्रामा ४ घन्टा सकस

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा हुने ‘एयर ट्राफिक’ र अन्य विभिन्न कारणले उडान ढिलो हुँदा यात्रुले दैनिकजसो सास्ती खेप्नुपरेको छ । पछिल्लो समय प्रत्येक रुटमा आधादेखि तीन घन्टासम्म उडान ढिला हुने गरेको छ । मुख्यतः काठमाडौं एयरपोर्टमा हुने एयर ट्राफिकका कारणले उडान ढिला हुने गरेको छ ।

उडान ढिलो हुँदा यात्रुले भोग्ने सबैभन्दा ठूलो समस्या हो– मानसिक पीडा हो । कार्यतालिका बोकेर हिँडेका यात्रुलाई समयमै गन्तव्यमा नपुग्ने चिन्ताले सताउँछ । यसले गर्दा महत्वपूर्ण काम समेत प्रभावित हुन्छ ।

साँझको उडान ढिलो हुँदा यात्रुले आर्थिक भारसमेत उत्तिकै व्यहोर्नुपर्छ । राति काठमाडौं पुगेका यात्रुलाई ट्याक्सीले महँगो भाडा असुल्छन् । त्रास पनि थपिन्छ ।

जहाज कुर्नेको ताँती

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा जहाजको चाप बढेकाले लुक्ला लगायत देशका अन्य गन्तव्य जाने यात्रुहरुको ताँतीनै हुने गरेको छ ।

काठमाडौंको आकाशमा एकैपटक धेरै जहाज अवतरण गर्न आउने, रनवे खाली नहुँदा तथा पार्किङ समस्याले जहाज उडान र अवतरणमा ढिलाइ भइरहेको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्याय बताउँछन् ।

‘अहिले एयरलाइन्स र यात्रु बढेका छन् तर पूर्वाधार र क्षमता बढाउन सकेका छैनौ,’ उपाध्ययले भने ।


क्लिकमान्डु