तिहारमा दैनिक ६० हजारको सेलरोटी बेच्ने तयारीमा श्रेष्ठ दम्पती




काठमाडौं । बिहानी पख काठमाडौंको जयबाघेश्वरीको कैलाशकुट कलेज जाने बाटोबाट एउटा छुट्टै बास्ना आइरहेको हुन्छ । त्यो कुनै डुनोट या मिठाइको बास्ना हैन् । त्यो त सिता श्रेष्ठले बनाएको सेल राटीको बास्ना हो । जुन बास्नाले मानिसहरुलाई ४ वर्षदेखि त्यतै तानिरहेको छ ।

त्यो बाटो भएर हिड्ने सबैजसो मानिस सिताको हातबाट बनेको सेल रोटी चाखेर नै जाने गर्छन् । अझै कैलाश कुट कलेजका सबैजसो विद्यार्थिहरु त्याहा सेल रोटी खान आएको समयमा त बस्ने ठाउँ नभएर उभिएरै सेलरोटी र चियाको चुस्की लिइरहेका देखिन्छन् ।

रामेछाप मन्थली घर भएकी सिता र उनका श्रीमान नारायण श्रेष्ठ बिहान ४ बजेदेखि नै सेल रोटी बनाउने तयारीमा जुट्छन् । सेल रोटी बनाउने सामाग्री तयार भएपछि श्रीमती सेल बनाउने, श्रीमान चिया पकाउने र छोरा छोरी ग्राहकलाई सेल रोटी बेच्न ब्यस्त देखिन्छन् ।

सुख्खा रोटीले भन्दा चिल्ला रोटीले नै बढायो आम्दानी
सुरुमा सेल रोटी र चिया बेच्न थाल्दा दिनमा १२ हजार रुपैयाँ जति कमाइ गर्ने गरेका दम्पती ५६ साल तिर काठमाडौं आएका हुन् । काठमाडौं छिरेपछि ज्यामी, डकर्मी र भारी बक्ने जस्ता काम गरी दुखसुख जिवन गुजारा गर्दै आएका नारायण श्रेष्ठले २०५७ सालदेखि गौशलाको फुटपाथमा ठेलागाडामा चिया र सुख्खा रोटीको व्यापार सुरु गरेका हुन् ।

केही समय ठेलामै भए पनि चिया र सुख्खा रोटी व्यापार गरी आफ्ना छोराछोरी पालेर बसिरहेका श्रेष्ठ परिवारलाई सरकारले फुटपाथमा ब्यापार गर्न प्रतिबन्द लगाएपछि अर्काे सफलता प्राप्त भएको हो ।

फुटपाथको व्यापार हटाउने सरकारी अभियानले उनको परिवारमा थप संकट आयो । आफ्नो ४ जनाको परिवार पाल्नको लागि एउटा उपाय बनेको त्यो पसललाई उनले त्यही थन्क्याउनु पर्ने बाध्यता आइपर्यो ।

त्यसपछि उनकी श्रीमती सिता श्रेष्ठले अरुको कुरा सुनेरै भए पनि साग व्यापार गर्ने निधो गरिन । २०५९ साल तिर सिताले २ सय रुपैयाँको साग कालिमाटीबाट ल्याएर आफ्नो व्यापारको जिवनलाई फेरि एउटा अर्को बाटो तिर मोडिन् ।

यसरी जयबाघेश्वरीको सानो कोप्चामा सुरु भएको साग पसललाई अघि बढाउँदै उनले त्यही नजिकै एउटा सानो पसल किन्ने मौका पाइन् । र, त्यहीबाट बिस्तारै बिस्कुट, चक्लेट, चाउचाउ गरि पसलमा सामान थप्दै थप्दै त्यसलाई किराना पसलको रुपमा परिवर्तन गरिन् ।

निकै राम्रोसँग चल्दै थियो त्यो किराना पसल । तर, केही समय पछि वरिपरी अरु पनि धेरै किराना पसल थपिन थाले । त्यसपछि सिता र नारायणको पसलको व्यापार बिस्तारै घट्न थाल्यो । यसरी पसलको व्यापार घट्न थालेपछि उनीहरुले किराना पसललाई नै चिया पसलको रुप दिन थाले ।

केही समयपछि सितालाई सेलरोटी बनाउन मनलाग्यो । र, उनले २०७० सालदेखि त्यही पसललाई चिया र सेलरोटी खाने पसलको रुपमा परिणत गरिन् । उनले बनाएको सेलरोटीको स्वाद खोज्दै खोज्दै मानिसहरु टाडा टाडाबाट आउन थाले । १० रुपैयाँको सेलरोटी र १५ रुपैयाँको चिया अब त्यहाँबाट हिड्नेले नचाखी जाने त कुरै थिएन । अहिलेसम्म पनि त्यहाको सेल रोटीको मूल्य १० रुपैयाँ नै छ । ४ वर्षसम्म एउटै मूल्यमा बेच्दै आएका श्रेष्ठ दम्पती अहिले दैनिक ७ हजार रुपैयाँ जति ब्यापार हुने बताउँछन् ।

यसरी सेलरोटी र चिया नै बेचेर उनीहरुले आफ्नो छोरीलाई नर्सिङ पढाएका छन् भने छोरा पनि १२ कक्षामा पढ्दैछन् । उनीहरुलाई सेलरोटिको व्यापार निकै फापेको थियो ।

तर, यसरी घर खर्च र छोराछोरीलाई शिक्षा दिक्षा दिदैँ आएका दम्पतीको जिवनमा एक दिन साँचिकैको भुकम्प आयो । त्यो हो २०७२ बैशाख १२ गतेको भुकम्प । त्यो भुकम्पले उनहरुलाई मात्र हैन सारा नेपालीलाई हल्लाएको थियो । तर, उनको जिवनमा त्यो भुकम्पले निकै परिवर्तन ल्यायो । त्यो भुकम्पले आफ्नो चलिरहेको पसललाई भत्काएपछि उनीहरु आफ्नो पसल सार्न बाध्य भए । चोकैमा भएको पसल सार्न त मन थिएन उनीहरुलाई पनि, तर बाध्यता त्यस्तै थियो ।

त्यसपछि उनीहरु त्यहाँबाट अलि पर गल्ली तिर सरे । त्यहाँ पनि व्यापार त राम्रै चलिनै रहेको थियो । तर, यहाँ अरुको देखासिखी गर्नेहरु पनि कम छैनन् । उनीहरुकै व्यापारलाई मध्य नजर गर्दै थुप्रै स्थानमा सेलरोटी पसल खुल्न थाले ।

सिता भन्छिन् ‘अब त जता हेर्यो त्यतै सेलरोटी पसल खोलेका छन्, तै पनि मैले पकाएको सेलको स्वाद चाखेकाहरु मेरै पसलमा आउँछन्,’ सिता भन्छिन् ।

यसरी सेलरोटी र चिया नै बेचेर उनीहरुले आफ्नो छोरीलाई नर्सिङ पढाएका छन् भने छोरा पनि १२ कक्षामा पढ्दैछन् । उनीहरुलाई सेलरोटिको व्यापार निकै फापेको थियो ।

अहिले तिहारले सबै नेपालीलाई छोपेको छ । यो मौकामा उनी थप ब्यापार गर्न चाहन्छन् । तिहारको अबसर पारेर उनले ४ बर्षदेखि नबढाएको सेलको मूल्य प्रतिगोटा १५ रुपैयाँ बनाउने योजना बनाएका रहेछन् ।

अरुबेला एक जनाले धेरैमा ३० पिस सेल किन्ने गरे पनि तिहार, माघे संघ्रान्ती, आमाको मुख हेर्ने औंशी र बुबाको मुख हेर्ने जस्ता पर्वहरुमा धेरै सेल बिक्री हुने नारायणले बताए ।

सामान्य समयमा महिनामा १२ लिटर तेल सकिन्थ्यो भने तिहारमा ३ बक्सासम्म तेल सकिने गरेको उनको भनाइ छ । श्रेष्ठ भन्छन् ‘तिहारको २ दिनमा झन्डै ६० हजार रुपैयाँभन्दा माथिको व्यापार हुने गर्छ ।’


क्लिकमान्डु