‘गुणस्तरीय सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै जुत्तामेलाको विषेशता हो’



रामकृष्ण प्रसाई, अध्यक्ष, नेपाली जुत्ता घर

हरेक वर्ष यहि समयमा नै छाला जुत्ता मेला आयोजना गर्नुको खास केही कारण पनि छ ?

यो १४ वर्षदेखिको निरन्तरता हो । यस अघि संघको नाममा जुत्ता मेला लगाउने गरेका थियौं । केही वर्षयता संघको मेला प्रदर्शनीको रुपमा परिवर्तन भयो । अनि हामीले सेल मेलाको सुरुवात गर्यौं । हामीले वर्षभरी नै एउटा डिजाइनमा तीन चारवटा कलर, पाँच छ वटा साइजमा उत्पादन गर्छौ । सबै सामान बिकाउ हुँदैनन् । विभिन्न किसिमका मोडलहरु स्टकमा बस्छ जसले उत्पादकहरुलाई मार पार्छ । यही स्टकमा रहेको जुत्ताहरु बिक्री गर्न हामी चार पाँच जना साथीहरु मिलेर योजनाबद्धरुपमा मेला गरेर बिक्री गर्ने सोच आएको हो ।

यसअघि हामीले फुटपाथमा लगेर जुत्ता बिक्री गर्ने गर्दथ्यौं । त्यसले शोरुम र फुटपाथमा एउटै ब्राण्डका जुत्ता पाईने भनेर कम्प्लेन आयो । अनि हामीले एकै स्थानमा मेला शुरु गरेका हौं ।

यो मेलाले उत्पादकलाई पनि केहि आम्दानी दिन्छ भने उपभोक्तालाई पनि सस्तो मुल्यमा गुणस्तरीय जुत्ता खरिद गर्ने अवसर दिएको छ । हामीले यो मेलामा विशेष मुल्यमा जुत्ता बेच्ने हुँदा कहिले घाटा हुन्छ भने कहिले नाफा हुन्छ । तर आफ्नो स्टक होल्ड हुने र लगानी फस्ने समस्याबाट पनि मुक्ति मिल्छ । आजको दिनमा आइपुग्दा सेल मेला बिजनेस एक्स्पोमा परिणत भएको छ । यहाँ उत्पादकले आफ्ना नयाँ उत्पादन पनि सार्वजनिक गर्न सुरु गरेका छन् ।

तपाइहरु नेपाली जुत्ता घरबाट व्यवसायिक रणनीति बनाएर अगाडी बढ्दै हुनुहुन्छ, केही व्यवसायीले तपाँइहरुले सिण्डिकेट गर्नु भनेर आरोप लागाइ रहेका छन् नि ?

हामीले सिण्डिकेट गरेका छैनौं । के लाई सिण्डिकेट भन्ने ? जुत्ताघर भनेको व्यापारिक कम्पनी हो । यो केही प्रतिस्पर्धी साथीहरु मिलेर बनेको कम्पनी हो । कम्पनी भित्र पनि विभिन्न किसिमका बादविवाद हुने गरेका छन् । यो एउटा कम्पनीमा बाहिरका साथीलाई आउन दिएनन् भनेर भन्न मिल्दैन् । यो कम्पनी हो । कुनै संघ होइन । संघमा आउन नदिएको भए सिण्डिकेट हुन्थ्यो । कम्पनीमा अर्को मान्छेलाई आउन नदिनु सिण्डिकेट हुन्छ ? यो प्राइभेट कम्पनी हो । यसले सरकारलाई नियमित राजस्व पनि तिरिरहेको छ । यदि कसैले आएर शिखर शुजमा पार्टनर सिप माग्ला, म दिन सक्छु र ? कम्पनीको आफ्नै नियम हुन्छ ।

मेलाले नेपाली जुत्ता उत्पादकलाई छिट्टै स्थापित गरिदियो, यो कसरी संभव भयो ?

यो मेला गज्जबले स्थापित भयो । हाम्रो पनि कुनै उत्पादनमा डिफेक्ट हुन्छ, कुनै मोडल नै असफल हुन्छ भने कुनै टार्गेट गरेको भन्दा कम बिक्री हुन्छ । हामीले लिने नाफा, स्टक गर्नेले लिने नाफा र रिटेलरले नाफा लिएर बिक्री गर्दा उपभोक्तालाई अधिक लागत पर्छ । जुत्ता व्यवसायमा चार पाँच तहमा लागत र नाफा हुन्छ । तर यो मेलामा कुनै उत्पादन लागत भन्दा कममा बिक्री गर्छाैं । जसले गर्दा उपभोक्तालाई निकै फाइदा भएको छ । मेलामा सिधै उपभोक्तालाई उत्पादकले बेच्दा हामीलाई पनि फाईदा हुन्छ र नगदमा बिक्री गर्न पाइन्छ । यो अहिले ट्रेन्ड नै स्थापित भएको छ । मेला लाग्दछ र जुत्ता किन्ने भनेर उपभोक्ताहरु कुरेर बसिरहेका हुन्छन् । हामीलाई पनि स्टक क्लियरेन्स हुन्छ भने आएको नगद पुन उपयोग गर्न सकिन्छ । नयाँ मोडल उत्पादन गर्न सकिन्छ र नयाँ सोच बनाउन सकिने हुँदा यो मेला निकै लोकप्रिय छ ।

यो मेलामा बेचिने उत्पादनको गुणस्तर र टिकाउ छैन भनेर शंका गर्ने ठाउ हुन्छ ?

शंका गर्नु स्वभाविक हो । बजार मूल्य भन्दा सस्तोमा किन्न पाइने हुँदा शंका उपयुक्त हो । कतिबेला त उपभोक्ताहरु नै अचम्ममा पर्दछन् । र, यति सस्तोमा पनि जुत्ता पाईन्छ र भनेर पटक पटक सोध्ने गर्दछन् । हामी फेरी अर्को वर्ष पनि हामी आउँछौं भनेर ग्राहकहरुलाई विश्वास दिलाउँछौं । अहिले ग्राहकले ढुक्क भएर किन्न सकिन्छ भन्ने अवस्था आएको छ ।

यो वर्षको मेलामा एउटा सामान्य ग्राहकले के के पाउँछ ?

एउटा त वर्षैपिच्छे हामीले सेल मेला लगाउने हुँदा पुरानो जुत्ता चप्पलहरु यहाँ पाईँदैन । अर्को भनेको यो मेलामा ग्राहकहरुका लागि भनेर नयाँ नयाँ उत्पादनहरु पनि बिक्रीमा राखिने गरेको छ । ग्राहकहरुको अत्यधिक भिड हुने हुँदा ग्राहकहरुले मेलामा जुन उत्पादन रुचाउँछन त्यहि उत्पादन बजारमा माग हुन्छ भनेर पनि नयाँ उत्पादन ल्याउने गर्दछन् । यस्तै मेलाले ग्राहकहरुसँग उत्पादकहरुले सिधै कुराकानी गर्न सकिने र ग्राहकहरुको रुची र चाहनालाई बुझ्न सकिने भएर मेलामा उत्पादक र उपभोक्ता दुबैंमा आकर्षण बढिरहेको छ ।


क्लिकमान्डु