उर्जामन्त्री शर्मा भन्छन्ः आवश्यक परे अर्को बर्ष नै हावाबाट ३ हजार मेवा विद्युत उत्पादन गर्न सकिन्छ



फाइल फोटो

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आवश्यक परे हावाबाट एक बर्षभित्रमा नै ३ हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने दाबी गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको उर्जा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

‘नेपालमा ३ हजार मेगावाट विद्युत हावाबाट निकाल्न सकिने रहेछ, मुलुकलाई आवश्यक परे एक बर्षभित्रमा नै उत्पादन गर्न सकिन्छ,’ मन्त्री शर्माले भने ।

उनले विद्युत अभाव छ भन्ने चिन्ता मनमा बोकेर सानोतिनो काममा मात्रै लाग्ने बानी त्याग्न उद्योगी ब्यवसायीलाई आग्रह पनि गरे ।

‘विद्युत छैन भनेर सानातिना काममा मात्रै अल्झन छोड्नुस्, अब ठूला उद्योग ल्याउने तयारी गर्नुस्, यो बर्ष नै नसकेपनि अर्काे बर्षदेखि तपाइहरुले मागेजति विजुली दिन सकिन्छ, त्यसको तयारीमा तपाइहरु लाग्नुस्,’ उद्योगी ब्यवसायीसँग आग्रह गर्दै उनले भने ।

तत्काल केही विजुली दिन सक्ने र अर्काे बर्षदेखि उद्योगले मागे जति विजुली दिने उनले जानकारी दिए । अहिले पनि उद्योगलाई चाहिने जति विजुली दिन सकिने तर अहिले अर्काे देशवाट किनेर दिनु पर्ने तथा आगामी बर्षदेखि स्वदेशी उत्पादनबाट नै माग अनुसारको विजुली दिन सकिने उनले प्रष्ट पारे ।

यस्तै निजी विद्युत उत्पादकहरुसँग ३ हजार मेगावाट विजुली खरिदको सम्झौता (पिपिए) भइसकेको जानकारी दिदै उनले त्यस्ता उत्पादकलाई थप सुविधा र सहुलियत दिएर चाढो उत्पादन गरिसक्न प्रोत्साहित गरिने उनको भनाइ छ ।

‘कुलमानजी राती राती ट्रान्सफरमर के भयो भनेर चाहार्दै नहिडेको भए र म दुई तिन दिन दुई तिन दिनमा ट्रान्समिसन लाइन हेर्न नगएको भए यो परिस्थिति आउने थिएन, हामी खट्यौं, त्यो देखेर कर्मचारी पनि खटे अनि यो परिणाम निस्कियो,’

जलाशययुक्त र अत्याधिक माग हुने समय (पिकिङ आवर) मा विद्युत उत्पादन गर्ने उत्पादकसँग नयाँ दरमा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पनि मन्त्री शर्माले जानकारी दिए ।

यस्तै निजी क्षेत्रका जलविद्युत उत्पादकलाई प्रतिमेगावाट ५० लाख रुपैयाँसम्मको भ्याट फिर्ता दिने निर्णय आफूले गरिसकेको भन्दै उनले ‘पोस्टेड रेट’ दिने सम्बन्धमा पनि निर्णय भइसकेको बताए ।

‘मैले तपाइहरुको पक्षमा धमाधम निर्णय गरेको छु, त्यसको प्रतिफल तपाइहरुले प्राप्त गरिनसकेको पनि हुन सक्छ, मैले गरेका निर्णयको बोधार्थ चाहिन्छ भने दिन तयार छु,’ निजी उर्जा उत्पादकको पक्षमा आफूले धेरै काम गरेको जानकारी दिदै मन्त्री शर्माले भने ।

‘विद्युत छैन भनेर सानातिना काममा मात्रै अल्झन छोड्नुस्, अब ठूला उद्योग ल्याउने तयारी गर्नुस्, यो बर्ष नै नसकेपनि अर्काे बर्षदेखि तपाइहरुले मागेजति विजुली दिन सकिन्छ, त्यसको तयारीमा तपाइहरु लाग्नुस्,’

आफूले दिनरात नभनी काम गरेको भएपनि कर्मचारीतन्त्रले त्यो ‘स्पीड’मा काम नगरेको मन्त्री शर्माले गुनासो गरे ।

‘कर्मचारीतन्त्र चलाउने कुरा उद्योग चलाउनु जति सजिलो छैन, यद्यपि म अन्तिम दिनसम्ममा कर्मचारीलाई काम लगाएरै छाड्छु,’ कार्यक्रममा गुनासोसँगै उनले अठोट पनि सुनाए ।

अहिले लोडसेडिङ अन्त्य हुनुको पछाडि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफ्नो ब्यक्तिगत मेहनत बढी परेको मन्त्री शर्माको दाबी छ ।

‘कुलमानजी राती राती ट्रान्सफरमर के भयो भनेर चाहार्दै नहिडेको भए र म दुई तिन दिन दुई तिन दिनमा ट्रान्समिसन लाइन हेर्न नगएको भए यो परिस्थिति आउने थिएन, हामी खट्यौं, त्यो देखेर कर्मचारी पनि खटे अनि यो परिणाम निस्कियो,’ मन्त्री शर्माले भने ।


क्लिकमान्डु