धौलागिरीमा पहिचान भयो ‘सेन्चुुरी पदमार्ग’, बाटोमा खिचिएका ५० तस्बिर प्रदर्शनी हुँदै



काठमाडौं । धौलागिरी हिमालको दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरी सेन्चुरी पदमार्ग’ पहिचान भएको छ ।

बिहीबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलन मार्फत ‘धौलागिरी सेन्चुरी पदमार्ग’ शुभारम्भ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले गरेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन बहादुर विश्वकर्माले काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्ने र पदयात्रा गर्न ७ दिन लाग्ने जानकारी दिए ।

काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्याँसिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्याँसिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्याँसिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ ।

प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको हो । यस काममा नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवाशीय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् ।

अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए । टोलीमा गुरिल्ला टे«ल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्द्र राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, पत्रकारद्वय अमृत भादगाउँले र सन्दिप खत्री, फ्रेण्ड्स एडभेन्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए ।

यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नु पर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ ।

सो अबसरमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरि पदमार्गमा खिचिएका ५० वटा तस्बिरहरुको समेत प्रदर्शनी गर्दैछ । प्रदर्शनी तीन दिनसम्म चल्ने छ ।


क्लिकमान्डु