मुलुकभर मौसमी राडार राख्ने तयारी



काठमाडौँ । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ ।

मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद प्रक्रिया अघि बढेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए । उनका अनुसार सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ ।

तीमध्ये सुर्खेतको राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माण अन्तर्गत आर्थिक सहयोग रहनेछ भने बाँकी दुई स्थानको राडारका लागि नेपाल सरकारले खर्च गर्नेछ । राडार जडानसहित सबै खर्च  प्रतिराडर करिब रु २० करोड पर्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ,यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ ।

हाल सीमित उपकरण भए पनि विभागले मौसम तथा प्राकृतिक प्रकोपका घटनाबारे पहिला नै सूचना प्रदान गर्दै आएको छ । विभागले हाल काठमाडौँ उपत्यकासहित देशका एक सय २० स्थानमा स्वचालित मौसमी उपकरणबाट मौसमी सूचना लिने गरेको छ । सो सङ्ख्यालाई विभिन्न स्थानमा बढाएर तीन सय  पु¥याइने र यसबाट तथ्य सङ्कलन र बढी सूचना प्राप्त गर्न सकिने बताइन्छ । स्वचालित उपकरण सीमित ठाउँमा भएकाले मौसमी सूचना समेट्न समस्या भएकाले विस्तार गर्न लागिएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमी सूचना सङ्कलन गरी आफ्नो वेबसाइटमा राख्ने गरेको छ । नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने गरेको छ ।

मौसम सूचना

मौसमविद्का अनुसार पृथ्वीको सतहदेखि १६ किमी माथिसम्मका विभिन्न स्तरका तथ्याङ्क लिएर मौसमी हरहिसाब गरिन्छ । युरोपेली र चिनियाँ भूउपग्रहबाट प्राप्त तस्बिर पनि प्रयोग गर्ने गरिएको छ । आधुनिक प्रविधिको प्रयोगका कारण पछिल्लो समय मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविद्को धारणा छ । भूउपग्रहको तस्बिर र वायुमण्डलको अवस्था हेरेर पनि मौसमको भविष्यवाणी गरिन्छ ।

महानिर्देशक शर्माले भूउपग्रही र विश्वव्यापी ढाँचा वेदर रिसर्ज एन्ड फोरकास्ट (डब्लुआरएफ)बाट अहिले मौसमी सूचना सङ्कलन गरिँदै आएको बताए । सो मोडलबाट विश्वभरबाट तथ्याङ्क लिएर नेपालको मौसमको भविष्यवाणी गरिन्छ । मौसम विभागले आफ्नो सेवालाई अझ व्यवस्थित र विस्तारित गर्न बबरमहलस्थित पुरानो कार्यालय परिसरमा पाँचतले सुविधासम्पन्न भवन निर्माणको काम पनि अघि बढिरहेको जनाएको छ ।रासस


क्लिकमान्डु