सिडिएस कम्पनीद्धारा चालु वर्ष ९० करोड बढि शेयर डिम्याट



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि)ले चालू आर्थिक वर्ष २०७२/७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकरण गरेको छ ।

सिडिएस कम्पनीको छैठौं वार्षिक साधारण सभाको अवसर पारेर दिईएको जानकारी अनुसार आ.व. २०७१/७२ मा २२ करोड ४ लाख ५२ हजार ९ सय १५ कित्ता धितोपत्र अभौतिकीकरण भएका थिए भने आ.व. २०७२/७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकरण भएका हुन् । यो संख्या गत आ.व. को तुलनामा ३९४२.९८ प्रतिशतले बृद्धि भएको छ ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ मा भएको व्यवस्थानुसार धितोपत्रको अभौतिकीकरणका लागि दर्ता गरेका कम्पनीहरुको संख्या आर्थिक वर्ष २०७१/७२ मा ९७ वटा र आर्थिक वर्ष २०७२/७३ मा ९२ वटा गरी समीक्षा अवधिसम्म कूल दर्ता कम्पनीहरुको संख्या २१३ पुगेको छ । आ.व. २०७१/७२ मा ३४ वटा कम्पनीहरुलाई निक्षेप सदस्यता प्रदान गरिएको थियो भने आ.व. २०७२/७३ मा थप १३ वटा कम्पनीहरुलाई निक्षेप सदस्यता प्रदान गरिएको छ र समीक्षा अवधिसम्म कूल निक्षेप सदस्यहरुको संख्या ६० पुगेको छ । निक्षेप सदस्यहरुको संजाल मुलुकभरका कूल ६० वटा जिल्लाहरुमा विस्तार गरीएको कम्पनीले जानकारी दिएको छ ।

त्यसै गरी धितोपत्र अभौतिकीकरण गरी कारोबार गर्नका लागि आ.व. २०७१/७२ मा ४० हजार ४ सय वटा हितग्राही खाता खोलिएका थिए भने सो संख्या आ.व. २०७२/७३ मा ७६९.८६ प्रतिशतले वृद्धि भई कूल ३ लाख ५१ हजार ४ सय २५ वटा हितग्राही खाता खोलिएका छन् ।

कम्पनीले आ.व.२०७१/७२ मा रु.७ करोड ८९ लाख ४२ हजार ३७ रुपैयाँ आम्दानी गरेकोमा आ.व.२०७२/७३ मा रु.११ करोड ८९ लाख ५९ हजार ३९ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यस  आ.व. को आम्दानी गत आर्थिक वर्षको तुलनामा ५०.६९ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी खर्च तर्फ आ.व.२०७१/७२ मा रु. ६ करोड २१ लाख ७९ हजार ६ सय ५४ रुपैयाँ खर्च भएकोमा यस आ.व. २०७२/७३ मा रु. ६ करोड ४९ लाख ७५ हजार २ सय ७५ रुपैयाँ खर्च भएको छ । यस आ.व. को खर्च गत आ.व.२०७१/७२ भन्दा ४.३० प्रतिशतले बृद्धि भएको जनाएको छ ।


क्लिकमान्डु