विद्यार्थी र पर्यटकबीच लोकप्रिय बन्दै पर्वतीय सङ्ग्रहालय



पोखरा । नेपाल पर्वतारोहण सङ्घले स्थानीय रातोपैराह्रामा  निर्माण गरी एक दशकअघि देखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय यतिखेर स्वदेशी तथा विदेशी विद्यार्थीप्रति निक्कै लोकप्रिय बनेको छ ।

हिमाल र हिमालको काँठामा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु वनस्पति, खनिज पदार्थलगायत सम्पूर्ण जानकारी एउटै छानामुनिबाट लिन सकिने भएकाले सङ्ग्रहालयप्रति विद्यार्थीको आकर्षण बढेको हो ।

विसं २०६० माघ महिनादेखि सञ्चालनमा आएको यस सङ्ग्रहालयको २०७३ साल मङ्सिर महिनासम्म छ लाख ९१ हजार ६ सय ४४ जना विद्यार्थीले अवलोकन गर्दा रु दुई करोड १३ लाख एक हजार नौ सय ६३ आम्दानी भएको सङ्ग्रहालयका संयोजक सन्तवीर लामाले बताए ।

“यस आर्थिक वर्षको पाँच महिनामा ६४ हजार चार सय ६६ विद्यार्थीले अवलोकन गर्दा संस्थाले रु २७ लाख सात हजार आठ सय ४० आम्दानी गरेको छ,” नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्षसमेत भएका उनले भने, “गत वर्षको भूकम्प र नाकाबन्दी लगायतका कारण सोही अवधिमा १० हजार पाँच सय चारजना विद्यार्थीले मात्र सङ्ग्रहालयको अवलोकन गरेका थिए ।”

मुलुकको ७५ वटै जिल्लाका एवम् पर्वतीय गतिविधिको चासो लिने बाह्य मुलुकका विद्यार्थीका लागि सङ्ग्रहालय भ्रमणको राम्रो गन्तव्य बन्दै गएको बताउँदै उनले भने,“पोखरा भ्रमणमा आउने विद्यार्थीलगायत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय परेको छ ।”

सङ्ग्रहालय सञ्चालन भएदेखि गत कात्तिक ११ का दिन  सबैभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए, त्यस दिन तीन हजार दुई सय ५३  विद्यार्थीसहित तीन हजार आठ सय २७ जनाले टिकट काटेर अवलोकन गर्दा रु दुई लाख पाँच हजार आठ सय आम्दानी भएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको स्थापनाकालदेखि हालसम्म कुल १४ लाख ४४ हजार नौ सय १६ जनाले टिकट काटेर अध्ययन अवलोकन गर्दा रु १२ करोड ८८ हजार तीन सय ३८ आम्दानी भएको सङ्ग्रहालयका प्रमुख बलप्रसाद राई बताउँछन् ।

उनका अनुसार सङ्ग्रहालयबाहिर बगैँचाका लागि सोही अवधिमा १२ हजार तीन सय ८८ जना प्रवेश गर्दा रु एक लाख ६२ हजार तीन सय आम्दानी भएको  थियो भने ७३ हजार ६ सय ४३ जनाले निःशुल्क प्रवेश गरेको तथ्याङ्क छ । बगैँचा अवलोकनका लागि रु २० को टिकटको व्यवस्था गरिएको छ ।

विद्यार्थीका अलावा चार लाख ५९ हजार आठ सय ९९नेपालीले टिकट काटेर अवलोकन गर्दा रु दुई करोड ७४ लाख ७५ हजार एक हजार ७५ र एक लाख दुई हजार नौ सय ६८ सार्कस्तरीय पर्यटकबाट रु दुई करोड २८ लाख ३५ हजार चार सय आम्दानी भएको छ ।

 

त्यस्तै एक लाख ७८ हजार ६ सय २२ जना बाह्य पर्यटकबाट रु पाँच करोड ८२ लाख १६ हजार आठ सय आम्दानी भएको प्रमुख राईको भनाइ छ । एक सय रोपनी क्षेत्रफलमध्ये लगभग चार रोपनी क्षेत्रफलमा फैलिएको दुईतल्ले सङ्ग्रहालय भवनमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिमचुचुरा एवम् आरोहण क्षेत्रमा हालसम्म भए गरेका गतिविधिका फोटोसहित प्रयोग भएका सामग्री र सो क्षेत्रमा बसोबास गर्ने पर्वतीय मानिसको जनजीवन झल्कने सामग्री प्रदर्शन गरिएको छ ।

सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ४० र सर्वसाधारण नेपालीका लागि रु ८० को व्यवस्था गरिएको छ भने सार्क अन्तर्गतका पर्यटकलाई दुई सय र बाह्रय पर्यटकको रु चार सय टिकट दर कायम गरिएको छ ।

सङ्ग्रहालयमा पर्वतारोहण, पदयात्री, स्किइङ, सिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले बताए ।

उनका अनुसार हाल फोटो मात्र प्रदर्शन गरिएको छ निकट भविष्यमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको नमुना तयार गरिने योजना सङ्ग्रहालयको छ । रासस


क्लिकमान्डु