साढे पाँच दशकदेखि अलपत्र रहेको राजविराज विमानस्थलको पुनःनिर्माण कार्य सुरु



राजविराज । विगत करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ ।

सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले जिम्मा पाएपछि निर्माण कार्य सुरु भएको हो ।

भ्याटसहित करिब ३० करोड रुपैयाँमा उक्त कम्पनीले ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको बताइएको छ । माटो भराइको काम सकिएपछि पिचिङको कार्य सुरु गरिने सो कम्पनीले जनाएको छ ।

पिचिङका लागि चैतदेखि जेठसम्मको समय उपयुक्त भएको हुनाले आफुहरु त्यस अवधि भित्रै काम पूरा गर्ने प्रयासरत रहेको कम्पनीका इन्जिनियर मणिगोविन्द श्रेष्ठ बताए । जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक उपकरण तथा जनशक्तिसमेत परिचालन गरिसकेको उनले बताए ।

विसं ०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको सो विमानस्थलको निर्माण कार्य एक महिनादेखि यता तीव्र पारिएको स्थानीयवासीले बताएका छन् ।

एकहजार पाँचसय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग र ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एकसय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

धावनमार्ग निर्माण भइसकेपछि राष्ट्रियस्तरको जुनसुकै उडान यहाँबाट बाह्रै महिना भर्न सकिने बताइएको छ । विमानस्थलको स्तरोन्नति भएपछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरीका बुद्धिजीवीको भनाइ रहेको छ ।

विकास निर्माणको दृष्टिकोणले सप्तरी पछाडि परेको अवस्थामा राजविराजमा विमानस्थल सञ्चालन भइसकेपछि जिल्लाको समग्र विकासमा योगदान मिल्ने र यसमा सबै राजनीतिकर्मीले समेत ठोस कार्यमा ध्यान दिनुपर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्रकुमार मण्डलले बताए ।

साथै, उनले जिल्लामै रहेको राजविराज विमानस्थल पुनःनिर्माण भएर सञ्चालन भएमा जिल्लाकै गौरव हुने भएकाले निर्माण कार्यमा सबै एकजुट हुनुुपर्नेमा जोड दिए ।

विमानस्थलको स्तरोन्नतिका लागि जिविस सप्तरीले छुट्याएको रु दुई करोड बजेटबाट हवाई मैदानको घेराबेरा गर्ने कामसमेत थालिएको जिविसले जनाएको छ ।

पञ्चायतकालमा काठमाडौँ र खोटाङको लामीडाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदै आएको थियो । कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकिरहेका थिएनन् ।


पुष्प दुलाल