‘भन्सार कार्यालयमा प्रविधि थप, दक्ष जनशक्ति राख’



काठमाडौं । ब्यवस्थापिका संसदको अर्थ समितिले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कर्मचारीको लापरवाही र सुरक्षा चेकजाचमा कमजोरी रहेको भन्दै कडाइ गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयबाट अघिल्लो सातामा मात्रै ३३ केजी अबैध सुन तस्करीबाट भित्रिएको फेला परेपछि संसदीय समितिले सरोकारवालासँग छलफल गरी यस्तो निर्देशन दिएको हो ।

बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । ‘त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानविन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानविन समिति गठन गरी त्यसमा देखिएका समस्याहरु पहिचान गरी दीर्घकालीन रुपमा समस्या समाधान गर्ने संयन्त्र समेत निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छौं,’ बैठक पछि समितिका सभापति प्रकाश ज्वालाले भने ।

यस्तै ३३ केजी अवैध सुन तस्करीमा संलग्न गिरोह एवं व्यक्तिहरुको बारेमा तत्काल छानविन गरी त्यस्ता व्यक्तिहरुलाई संगठित अपराध अन्तर्गत कडाभन्दा कडा कारवाही गर्न तथा सोे कार्यमा संलग्न र सहयोग पु¥याउने कर्मचारीहरुलाई प्रचलित ऐन कानून अनुसार विभागीय र अन्य आवश्यक कारवाही गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरुको मात्र प्रहरी चेक जाँच हुने र आगमनमा प्रहरीद्वारा कुनैपनि चेकजाँच नहुने भएकोले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा पर्याप्त र भरपर्दो चकेजाँचको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजश्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि क्षमता अभिबृद्धि गर्न, विमानस्थलमा रहने सरकारी निकायहरु वीच प्रभावकारी समन्वयको व्यवस्था गर्न, सबै निकायको भूमिका स्पष्ट गर्न र आधुनिक चेकजाँच मेशिन सहित विमानस्थलको सुरक्षा प्रणालीलाई सशक्त बनाउदै विमानस्थलको आधुनिकीकरणको काम तीब्र रुपमा अघि बढाउन पनि समितिले निर्देशन दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था तत्काल गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु