शेखर गोल्छाको घोषणा- महासंघमा गुटको अन्त्य भयो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र गुट र पक्ष सकिएको बताएका छन् ।

निर्वाचित भएलगतै क्लिकमाण्डूसँग कुरा गर्दै गोल्छाले भने- ‘मेरो व्यक्तिगत तर्फबाट यो घोषणा गर्न चाहन्छु कि नेपाल उद्योग वाणिज्य महासंघमा अब कुनै गुट र पक्ष हुने छैन । हामी एउटै प्यानल भएर काम गर्नेछौं ।’

कुनै पनि निर्वाचनमा प्यानल हुनु स्वभाविक भएको उनले बताए ।

‘सबैभन्दा पहिला मलाई बिजयको माला मेरा प्रतिस्पर्धी किशोर प्रधानजीले लगाइदिनु भयो, मलाई लाग्छ आउने समयमा हामी यो परम्परालाई कायमै राख्छौं,’ गोल्छाले भने- ‘आजसम्म हामी प्रतिपक्षी थियौं, अब हामी एकपक्षी हुन्छौं । अब हामी बसै मिलेर एउटै एजेण्डा बोकेर अघि बढ्नुपर्छ ।’

नयाँ आर्थिक वर्षको बजेट आउन लागेकाले त्यसमा महासंघले आफ्नो गृहकार्य सुरु गरिहाल्ने जानकारी दिए ।

यसबाहेक नेपालको अर्थतन्त्रमा राम्रा संभावनाहरु देखिएको र ती संभावनाहरुलाई कसरी परिस्कृत गर्दै हाम्रा साथीहरुको हितमा काम गर्ने भन्ने नयाँ नेतृत्वको एजेण्डा रहेको उनले बताए ।


पुष्प दुलाल