शेखर पत्नी भन्छिन्- बुबाको जीत देखेर छोराले महासंघको नेतृत्वमा आउने सपना बुनेको छ



काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्न चुनाब भइरहेको थियो । माहोल पुरै तातेको थियो ।

सबै आआफ्नो धुनमा व्यस्त देखिन्थे । त्यही भिडभित्र सालीन एउटा युवा भने यताउता डुलिरहेको थियो । साथमा थिइन् एउटी सुन्दर किशोरी । उनीहरु थिए शेखर गोल्छाका छोरा र छोरी ।

भारतको पुनेमा रहेको बजाजको कार्यालयमा काम गरिरहेका शेखरका छोरा अभिमान्य गोल्छा आफ्ना बाउ उम्मेद्वार रहेको चुनाब हेर्न काठमाडौं आएको शेखर पत्नी सीमा गोल्छाले बताइन् ।
‘आफ्नो बुबाको चुनाब हेर्न भारतको पुनेमा रहेको छोरा अभिमान्य यहाँ आएको छ, उसले चुनावलाई नजिकबाट र अत्यत्नै सकरात्मक रुपमा हेरिरहेको छ,’ सीमाले क्लिकमाण्डूसँग भनिन् ।

कमलादीस्थित प्रज्ञा भवनमा शेखर गोल्छाका छोरा र छोरी

शेखरलाई देखेर छोरा निकै उत्साहित भएको सीमाले सुनाइन् ।

‘भविष्यमा बुबाजस्तै महासंघको नेतृत्वमा आउँछु भन्ने सपना छोराको मनमा पलाएको मैले फिल गरेकी छु,’ उनले भनिन्- ‘यो हाम्रो घरानाका लागि निकै ठूलो गर्वको विषय हो ।’

अमेरिकाबाट इन्जिनियरको अध्ययन सकेर केहीसमय यता अभिमान्य पुनेस्थित बजाजको कार्यालयमा काम गर्छन् । अहिले उनी २३ वर्षका भए ।

छोरालाई अहिले नै गोल्छा समूहको सञ्चालक बनाएर व्यवसायमा ल्याउँदा उसले जागिर के हो ? संघर्ष के हो ? भन्ने कुरा नबुझ्ने विश्लेषण गर्दै गोल्छा परिवारले उनलाई बजाजमा जागिर खान प्रोत्साहन गरेको सीमाको भनाई थियो ।

मंगलबार भएको निर्वाचनमा महासंघको आगामी ३ वर्षे कार्यकालका लागि बरिष्ठ उापध्यक्षमा गोल्छा साढे ६३ प्रतिशत मत प्राप्त गरि निर्वाचित भए ।

आफ्नो बुबाले चुनाब जितेको अभिमान्यले असिमित खुसी व्यक्त गरे ।

‘मलाई अत्यन्तै खुसी लागिरहेको छ,’ अभिमानले प्रतिक्रिया दिए ।

शेखर र सीमा

महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ । जसअनुसार अबको ३ वर्षपछि शेखर स्वत महासंघको अध्यक्ष बन्नेछन् ।

महासंघको नेतृत्वमा आउनु गोल्छा परिवारको ठूलो सपना थियो । त्यो अधुरो रहेको सपना मंगलबार शेखरले पुरा गरेका छन् ।

निर्वाचनको परिणाम सुनेर खुसीले फुरुङ्ग भइरहेकी गोल्छा पत्नी सीमाले भनिन्,– ‘खासगरी आज म मेरो ससुरा हुलासचन्द्र गोल्छालाई सम्झिन्छु । किनभने उहाँ ३/४ कार्यकाल उपाध्यक्ष हुनुभयो । त्यस्तै मेरो जेठाजुलाई पनि उत्तिकै सम्झिरहेकी छु ।
महासंघको नेतृत्वमा आउने सपना शेखरजीको मात्रै होइन, गोल्छा परिवारको हो । त्यो पुरा भएको छ ।’

चुनावका लागि आफूहरुले निकै ठूलो मिहेनत गरेको र मिहेनत गरे अनुसारको सफलता हासिल भएको उनको भनाई छ ।

‘शेखरजी १० वर्षदेखि महासंघमै सक्रिय हुनुहुनथ्यो । अन्तिम ३/४ महिना त निकै धेरै मिहेनत गर्नुभएको थियो,’ उनले भनिन्,- ‘टिम वर्कका कारण हामीलाई यो सफलता मिलेको हो ।’

खासगरी शेखरको जितले युवा पुस्ताका उद्योगी/व्यवसायीहरुलाई अत्यन्तै धेरै उत्साहित बनाएको सीमाले सुनाइन् ।

‘शेखरजी परिवारको रोल मोडेल पनि हो, नेपाली युवा पुस्ताको रोल मोडल पनि बन्नुभएको छ,’ उनले भनिन् ।

शेखरको सबैभन्दा सबल पक्ष कमिटमेन्ट भएको सीमाको बुझाइ छ ।

‘उहाँसँग पोजेटिभ एटिच्यूड छ, देशको अवस्था होस्, बिजनेस होस् सबै विषयमा उहाँको सकरात्मक मात्रै सोच छ,’ उनले भनिन्- ‘आफ्नो प्रतिवद्दतामा उहाँ दृढ हुनुहुन्छ ।’

बिर्सिहाल्ने बानी चैं शेखरको ठूलो कमजोरी भएको उनले टिप्पणी गरिन् ।

‘उहाँलाई मान्छे चिन्न अलि गाह्रो हुन्छ । मान्छेहरुको नाम विर्सिइहाल्नु हुन्छ । कन्फ्जुनमा पर्नुहुन्छ ।’ सीमाले सुनाइन्,- ‘म ३० वर्षदेखि शेखरजीसँगै छु, त्यसबाहेक टिप्पणी गर्न मिल्ने कमजोरी मैले देखेकी छैन ।’

 


पुष्प दुलाल