हामी त १५ बर्षपछि दोब्बर रकम फिर्ता दिन सक्दैनौं भने अरुले कसरी दिन्छन् ?



नेपालकै अग्रणी जिवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स २०५८ सालमा स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैंयाँ छ भने चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैंयाँ रहेको छ । गत बर्षको नाफाबाट बाँढेको बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैंयाँ पुग्नेछ ।

जर्मनी स्थित बिश्वबिख्यात पुर्नबीमा कम्पनी ह्यानओभर रि-इन्स्योरेन्ससँग पुर्नबीमा गरेको यो कम्पनी चुस्त आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनको लागि परिचित छ ।

१५ लाख हाराहारी नेपालीहरुलाई बीमा सेवा दिइरहेको नेपाल लाइफका देशभरी १ सय ६ शाखा कार्यालयहरु छन् । र, ७० हाराहारी जिल्लाहरुमा संजाल फैलिसकका छन् । पछिल्लो कारोबार प्रतिकित्ता २ हजार ७५ रुपैंयाँमा भएको नेपाल लाइफ आम लगानीकर्ता माझ निकै आर्कषक सेयर मानिन्छ । केही समय अघि बिक्री गरेको एफपिओमा ५० अर्ब रुपैंयाँ माथिको आवेदन परेको थियो ।

आर्थिक बर्ष २०६८/६९ देखि २०७२/७३ सम्म आइपुग्दा कम्पनीले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश गरेर क्रमशः १२६.३१, ९८.५, ६८, २६.३१ र २६.३१ प्रतिशत लाभांश वितरण गरेको छ । नेपालको जीवन बीमा बजारको झण्डै ३५ प्रतिशत हिस्सा ओगट्ने नेपाल लाइफको वित्तीय बिवरण हेर्दा आगामी दिनमा पनि लगानीकर्ताले अपेक्षित लाभांश पाउन कुनै समस्या नहुने नै देखिन्छ ।

नेपाली बीमा बजारको अबस्था, अबको चुनौति र अबसर तथा संभावना जस्ता समसामयिक बिषयमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिबेक झासँग क्लिकमाण्डुले गरेको कुराकानीको सम्पादीत अंशः

जीबन बीमा क्षेत्रको अबस्था अहिले कस्तो छ ?

राम्रो छ, अगाडि अझै राम्रो हुने देखेको छु । विगत ५ बर्षमा जीबन बीमा कम्पनीहरु धेरै आक्रामक रुपमा प्रस्तुत भएका छन् भने, सिर्जनात्मक पनि भएका छन् । जनचेतना बढेको छ । त्यसकोलागी भूकम्पले ठूलै भूमिका खेलेको जस्तो लाग्छ ।

हामी नेपाली कुनै पनि कुरा चाढै विर्सन्छौं । भूकम्पको बेलामा मान्छेहरु आफ्नो सम्पत्ति र आफ्नो लागि जति सचेत थिए, अहिले त्यो सचेतना कम भएको छ । तर यो नेचुरल फेनामेना हो । हामी कम्पनीहरुले राम्रो कुरालाई पुस गर्दै जाने हो । यो क्षेत्रमा लागेका हामी जस्ता कम्पनीहरु, नियामक निकाय, सरकार अन्य सरोकारवाला पक्षहरुले गर्नुपर्ने जति गर्न सकिएन भन्छौं । यसमा मेरो भनाइ के हो भने अब यो चिन्ता गरेर नबसौं । गर्नुपर्ने जति कसरी गर्न सकिन्छ भनेर लागौं । सबैले प्रयास गर्ने हो भने जीबन बीमा क्षेत्रलाई अब अझ राम्रो बनाउन सक्ने प्रसस्त ठाँउ मैले देखेको छु ।

नेपालको कुन क्षेत्रमा बीमा बजार बढी पुगेको छ ?

पहिला सहरी र ग्रामीण क्षेत्रको कुरा गरौं । संख्यात्मक रुपमा ग्रामीण क्षेत्रमा बढी छ । आकारमा सहरी क्षेत्रको हिस्सा धेरै छ, जुन प्राकृर्तिक पनि हो । क्षेत्रगत रुपमा भन्नुपर्दा सुरुमा सुदुर पश्चिम क्षेत्रमा राम्रो थियो । अहिले परिवर्तन भइरहेको छ । जस्तो गएको बर्ष नेपाल लाइफको पूर्वक्षेत्रमा धेरै राम्रो भएको छ ।

यो कुरा कम्पनीको पहुच र उसले गर्ने पहलमा भर पर्दाेरहेछ । किनभने बीमा बजारको सबैभन्दा धेरै पहल गर्ने भनेकै बीमा कम्पनीले हो । अरु उपभोग्य बस्तुको आकर्षण बस्तु स्वयमले हो । जस्तो मोवाइलको आकर्षण मोवाइले नै दिने हो । तर, बीमा कम्पनीहरुले बेच्ने भनेको प्रतिबद्धता मात्रै हो । यो प्रतिबद्धता इमेजिनरी हुन्छ । बीमा कम्पनीले बेच्ने कुरामा भिजिबिलिटी हुदैन । कहिले काही बीमा पोलिसीमा मिस सेलिङ हुन सक्छ । यो भयो भने समस्या हुन्छ ।


बिबेक झा
प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स

मिस सेलिङको समस्या नेपाली कम्पनीकोभन्दा पनि विदेशी कम्पनीका कारण बढी भयो भन्ने गुनासो सुन्ने गरिन्छ नि ?

मिस सेलिङ भनेको तपाईको मनमा गलत कुरा हालेर मेरो बीमा पोलिसी बेचे भने त्यो मिस सेलिङ भयो । यो समस्या विदेशी कम्पनीहरुका कारण पनि आएको छ । मिस सेलिङको आधारभूत कुरा भनेकै प्रतिफलको विषयमा वास्तविकभन्दा बढाएर भन्ने कुरा हो । डबल हुन्छ हुन्छ भनेर पोलिसी बेच्ने कुरा ब्यापक रुपमा भएको मैले पाएको छु । जबकि बीमाबाट प्राप्त हुने प्रतिफल पूर्णरुपमा बोनस दरमा निर्भर हुन्छ । जस्तो नेपाल लाइफमा १ लाखको १५ बर्षे बीमा गर्दा १५ बर्षपछि १ लाख ९७ हजार ५ सय रुपैयाँ फिर्ता पाइन्छ । यो रकम भनेको आजको बोनस दर ६५ ले हो ।

सबैभन्दा बढी बोनस दर नेपाल लाइफकै छ । हामीले त १५ बर्षपछि दोब्बर दिन सक्दैनौं भने हाम्रोभन्दा कम बोनस दर भएको कम्पनीले कसरी दोब्बर रकम फिर्ता दिन सक्छन् ? यो नहुने कुरा हो । ६५ भन्दा कम बोनस दर भएका कम्पनीले अबधि पूरा भएपछि दिने करम कम हुन्छ । जस्तो भारतबाट आउने अधिकांश कम्पनीको बढी दिने बोनस दरभनेको ४२ देखि ४७ हो । मानौं कुनै प्रोडक्टको बोनस दर ४५ छ भने १५ बर्षपछि उसले दिने रकम भनेको १ लाख रुपैयाँको १ लाख ६७ हजार ५ सय रुपैयाँ हो । अब कसरी दोब्बर हुन्छ ? हो, यस्तोमिस सेलिङ गर्नुभएन ।

हामी हिजोको दिनमा पनि काम गरिरहेका थियौं, अब झन रचनात्मक भएर नयाँ तरिकाले काम गर्न हामीलाई झकझक्याएको छ । यो त राम्रो भयो नि ।

बीमा गराउने ब्यक्तिले पनि त्यो कम्पनीको बीमा दर कति छ भनेर पहिला बुझ्न जरुरी छ । बीमा दर थाहा पाएपछि उसले कति रकम फिर्ता गर्न सक्छ र फिर्ता कति पाउनु हुन्छ भनेर उसले तपाइलाई भनिरहेको छ, त्यो आफैले जान्न सक्नुहुन्छ । जस्तो तपाई एउटा कप नै किन्न जानुभयो भने पनि उसको रंग हेर्नुहुन्छ, साइज हेर्नुहुन्छ, फेसन हेर्नुहुन्छ, फिनिसिङ हेर्नुहुन्छ ।

तर, बीमा गर्दा एउटा मान्छे आएको हुन्छ, उसले जे भन्छ त्यही मान्नुहुन्छ । दोब्बर पाइन्छ भन्यो भने दोब्बर पाइने पत्याउनु हुन्छ, तेब्बर भन्यो भने तेब्बर पत्याउनुहुन्छ । अर्काे कुरा पनि भनौं कि ५० रुपैयाँको ५ बर्षे बीमा गराउनु भयो भने तपाइले ५ बर्षकै बोनस पाउने न हो । त्यहाँ दोब्बर कसरी भयो ? यस्ता कुरा बीमा गर्ने ब्यक्तिले पनि बुझ्न जरुरी छ ।

बीमा पोलिसीमा यो कुरा लेखेको हुदैन र ?

हुन्छ । तर, पढ्ने कसले ? तपाइलाई म छिमेकी देशको म्युचुअल फण्डको उदाहरण दिन्छु । म्युचुअल फण्डको मूल्य बजारको जोखिम अनुसार तलमाथि हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । सामान्य मान्छेलाई यो कुरा थाहा नहुन सक्छ । आज १० प्रतिशत प्रतिफल छ भने १० बर्षपछि यो १० रुपैयाँ बढेर १०० रुपैयाँ हुन्छ भन्नेभन्दा बढी थाहा हुदैन । त्यो प्रतिफल १० बाट घटेर २ भयो भने उसले प्राप्त गर्ने रकम २० रुपैयाँ हुन्छ भनेर ध्यान दिइरहेको हुदैन । यस्तो समस्या भएपछि भारतको नियामक निकाय सेबीले कम हुन सक्ने कुरा पनि जनतालाई भन भनेर निर्देशन दियो ।

तर, म्युचुअल फण्डको विज्ञापन आउँदा यो कम हुने कुरा भर्रर्रर छिटो भन्न थालियो । यो के भनेको भनेर बुझ्न सकिने भएन । फेरि सेबीले जनताले बुझ्ने गरी यो कुरा भन भनेर निर्देशन दियो । त्यसपछि उनीहरुले भन्न थाले कि म्युचुअल फण्डको प्रतिफल बजारको जोखिमको आधारमा तय हुन्छ भन्न थाले । बीमाको सन्दर्भमा पनि यो उदाहरण अनुकरणीय देख्छु म ।

यो कमजोरी बीमा कम्पनीहरुकै होइन र ?

ठीक भन्नुभयो । हाम्रो बीमाको ९९ प्रतिशत जति ब्यवसाय बीमा एजेन्टको माध्यमबाट हुन्छ । एजेन्सी तयार पार्ने बीमा कम्पनीहरुले नै हो । एजेन्सीहरुलाई गलत कुरा नभन भनेर भन्न सकिन्छ । ९० प्रतिशत एजेन्सीले गलत कुरा भन्दैनन् पनि । तर, स्कूलमा सबैलाई राम्रो कुराको शिक्षा दिइएको हुन्छ । एउटै क्लासमा राखेर पढाइएको हुन्छ ।

तर, कुनै विद्यार्थी ९५ प्रतिशतभन्दा बढी अंक ल्याएर पास भइरहेको हुन्छ भने कुनै विद्यार्थी फेल भइरहेको हुन्छ । पढ भनेर शिक्षकले भने पनि कसैले पढ्छ कसैले पढ्दैन । यो भनेको मानसिकतामा आधारित कुरा हो । अर्काे कुरा मैले के भन्ने गरेको छु र प्रयास पनि भइरहेको छ भने अब हामीले स्वतन्त्र रुपमा सुचना प्रवाह गर्नुपर्यो ।

यो भनेको के हो ?

जसले बीमा गरेका छन्, गराउदै छन् वा गराउन सक्छन्, तिनीहरुलाई बीमाको बारेमा सही सुचना प्रवाह गर्नु अतिआवश्यक भइसक्यो । त्यो प्रवाह कम्पनीहरु आफैबाट पनि हुनुपर्यो र स्वतन्त्र रुपमा हाम्रो नियामकबाट पनि हुनुपर्यो । किनभने बीमाको फाइदा बारेमा धेरैलाई जानकारी नै रहेनछ । जस्तो बीमा गराएपछि आफूले तिरेको प्रिमियको ९० प्रतिशतसम्म ऋण पाइने ब्यवस्था छ । बीचमा पैसा तिर्नै सकिएन भने रोक्न पनि पाइन्छ ।

कतिपयले पैसा तिरेको हुन्छ तर बीचमा कसैले त्यो पैसा कम्पनीमा बुझाएको हुदैन । पैसा नबुझाइ जोखिम बहन हुँदैन । यसैले पैसा बुझाएपछि रिसिप्ट लिने गर्नुस् भन्नु पर्नेछ । यस्तो काम गर्नुपर्ने आवश्यक छ । र, गर्न पनि लागिरहेका छौं । बीमा समितिले पनि यसको गृहकार्य गरिरहेको छ ।

नयाँ १० वटा जीबन बीमा कम्पनी आउँदैछन्, यसले बजारमा कस्तो प्रभाव पार्ला ?

हरेक कुरालाई हेर्ने सकारात्मक र नकारात्मक दुईटा पाटो हुन्छ । म सकारात्मक पाटोबाट हेर्ने गर्छु । नयाँ कम्पनी थपिएपछि संख्या बढ्छ । संख्या बढेपछि प्रतिस्पर्धा बढ्छ । प्रतिस्पर्धा बढेपछि नयाँ नयाँ सोच ल्याउनु पर्छ । यसले उपभोक्तालाई फाइदा पुग्छ । उपभोक्ताले अझ राम्रो सुबिधा पाउँछन् । जस्तो नेपाल लाइफसँग १२ देखि १५ वटा प्रोडक्ट अहिले नै छन् ।

नयाँ कम्पनीले पनि यिनै प्रोडक्ट लिएर आउने हो भने नयाँ मान्छे पनि हाम्रै कम्पनीमा आउँछन् । त्यसकारण नयाँ कम्पनीले नयाँ प्रोडक्ट ल्याउनै पर्छ । नयाँ कम्पनी आउने भएपछि नयाँ प्रोडक्ट आउँछ र त्यसले हाम्रो बजार खोस्छ भनेर हामी नै नयाँ प्रोडक्ट ल्याउने तयारीमा छौं । यो बेग्लै कुरा हो ।

तर, यसले हामीलाई पनि नयाँ सिराबाट सोच्न बाध्य बनाएको छ । हो, हामी हिजोको दिनमा पनि काम गरिरहेका थियौं, अब झन रचनात्मक भएर नयाँ तरिकाले काम गर्न हामीलाई झकझक्याएको छ । यो त राम्रो भयो नि । अहिले जीबन बीमा क्षेत्रमा नेपाल लाइफ मार्केट लिडर छ । मार्केट लिडरको हैसियतले हेर्दा मैले राम्रो कुरा बढी देखेको छु ।

तपाइको कम्पनी धेरै राम्रो भएकोले नयाँ कम्पनीले तत्काल हामीलाई भेट्न सक्दैन भन्ने लागेर सकारात्मक कुरा मात्रै देख्नु भएको हो कि ?
होइन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कहाँ धेरै अगाडि छ र । मलाई त हामी धेरै अगाडि पुगे जस्तो लाग्दैन । जस्तै कुनै स्कूलमा ६० प्रतिशत नम्बर ल्याउने विद्यार्थी प्रथम हुन्छ । कुनै स्कूलमा ९५ प्रतिशत अंक ल्याउने विद्यार्थी प्रथम हुन्छ ।

हाम्रो स्कूलमा अहिले ६० प्रतिशत अंक ल्याउने प्रथम भएको न हो । अहिले त हामी मार्केट लिडर भएको न हो । जानुपर्ने त धेरै अगाडि छ । हामीले ९५ प्रतिशत अंक ल्याउनु पर्नेछ । यसो हुन बजार बढ्नुपर्छ । हामी अझै पनि ५ देखि ७ वटा जिल्लामा पुग्नै सकेका छैनौं । अब पुग्दैछौं । त्यसपछि मात्रै हामी अगाडि बढ्ने हो । दौडिने हो । हामी त अहिले संघर्ष गरिरहेका छौं ।

अबको चुनौति भनेको बजार नै बढाउनु पर्यो भन्ने हो । बजारमा नयाँ कम्पनी आएपछि एउटाको भाग अर्काेले खोस्छ । नयाँ बजार तयार पार्न सकियो भने सबैलाई राम्रो हुन्छ ।

अहिले नेपालेका जनसंख्या करिब ३ करोड छ । बैदेशिक रोजगारमा जानेको संख्या छोडिदिने हो भने कति मान्छेले बीमा गराएका छन् र । प्रतिशतको हिसाबमा १० प्रतिशत मान्छे बीमाको दायरामा आए भन्ने गरिन्छ । यो अंक हेरेर दंग पर्ने अबस्था छैन । किनभने परक्यापिटा इन्स्योरेन्स जसलाई बीमाको भाषामा डेन्सिटी भनिन्छ, त्यो हेर्ने हो भने धेरै कम छ ।

तपाइलाई अर्काे कुरा पनि भनौं । केही अगाडि यो देशमा एउटा मात्रै बीमा कम्पनी थियो । त्यो बेला ऊ सबैभन्दा राम्रो मात्रै होइन निर्बिकल्प नै थियो । त्यसपछि अर्काे कम्पनी थपियो । अनि एउटा कम्पनी पहिलो र अर्काे दोस्रो हुन थाले । त्यसपछि ४ वटा जति नयाँ कम्पनी आए । त्यसमा एउटा नेपाल लाइफ इन्स्योरन्स पनि थियो । बिग जायन्ट भनिने बिदेशी कम्पनी पनि आयो । फेरि थप नयाँ कम्पनीहरु आए । यो सबै कुरा मैले किन भनेको भने जसले राम्रो काम गर्यो त्यही कम्पनी अगाडि जाने हो । त्यही कम्पनी राम्रो हुने हो ।

हाम्रो कम्पनी अहिले भएकामध्ये राम्रो काम गरेर राम्रो भएको हो । अब हामीले राम्रो गर्न सकेनौं वा गरेनौं भने अर्काेले हामीलाई उछिन्छ । तर, अहिलेसम्म राम्रो गरेको अनुभव, राम्रो गरेको उदाहरण र राम्रो गर्न सकेको कारण अबका दिनमा पनि हामी राम्रो गरेर सबैभन्दा राम्रो कम्पनीकै रुपमा रहन सक्छौं भन्ने हाम्रो मान्यता हो । हिजोको दिनमा हामीले ९ वटा कम्पनीसँग प्रतिस्पर्धा गरेर हामी राम्रो कम्पनी भएका हौं ।

अब १० नयाँ कम्पनी थपिदैछन् । आजको दिनमा हामीले १९ कम्पनीसँग नयाँ प्रतिस्पर्धा सुरु गर्ने हो । बीमा कम्पनी टाट नपल्टिने भन्ने हुदैन । सबैभन्दा जोखिमपूर्ण अबस्थामा बीमा कम्पनी नै हुन्छन् । बीमा कम्पनीले जोखिम लिने हो । आफ्नै जोखिमको उचित ब्यवस्थापन गर्न सकिएन भने त जान्छ नै ।

तर नेपाल लाइफको सन्दर्भमा कुरा गर्दा अहिले हाम्रो बजार हिस्सा ३५ प्रतिशत छ । आजभन्दा ५ बर्ष अगाडि बजार हिस्सा २० प्रतिशत थियो । २० बाट ३५ पुग्न सक्छ भने ३५ बाट २० झर्न सक्छ । अबको चुनौति भनेको बजार नै बढाउनु पर्यो भन्ने हो । बजारमा नयाँ कम्पनी आएपछि एउटाको भाग अर्काेले खोस्छ । नयाँ बजार तयार पार्न सकियो भने सबैलाई राम्रो हुन्छ । यो ३५ लाई जोगाएर राख्नु नै नेपाल लाइफको सबैभन्दा ठूलो चुनौति हो । हामी यसैको लागि काम गरिरहेका छौं ।

कसरी जोगाइ राख्नुहुन्छ आफ्नो बजार ?

एक लाइनमा म यो प्रश्नको जवाफ दिन सक्दिनँ । तर, म के भन्छु भने आकार बढाउनु पर्छ । आज हामी किन सफल भयौं, ३५ प्रतिशत बजार हिस्सा किन पायौं ? हामीलाई यो कुरा थाहा छ । त्यो पुरानो रणनीतिलाई निरन्तरता दिनुपर्छ । बजार बढाउनु पर्छ । त्यो प्रकारको नयाँ प्रोडक्ट लिएर आउनु पर्छ । जस्तो गाडी चढिरहेको मान्छेले नयाँ मोडल आएपछि खरिद गर्छ । यसैगरी मल्टिपल बीमा गराउन सकिन्छ । सबै प्रकारको ब्यवसायको सबैभन्दा महत्वपूर्ण विषय भनेको भइरहेका उसको उपभोक्ता हो ।

नेपाल लाइफसँग १५ लाखको हाराहारीमा उपभोक्ता अहिले नै छन् । अरुले हेर्दा यो १५ लाखलाई १५ लाखै देख्छन् । म यसलाई ६० लाख देख्छु । किनभने यो सिफारिसमा आधारित ब्यवसाय हो । यो पारिवारिक ब्यवसाय हो । एक जनाले ४ जनालाई सिफारिस गर्यो भने पनि ६० लाख बिमित हामीसँग हुन्छन् ।

नयाँ कम्पनीको प्रबेशपछि बजारमा नकारात्मक असर पर्दैपर्दैन र ?

केही बिषय त छन् नै । अस्वस्थ प्रतिस्पर्धा बढ्न थाल्यो भने समस्या आउन सक्छ ।


क्लिकमान्डु