मास्टर्सको थेसिस लेख्न सरकारले पैसा दिने, यस्तो छ प्रक्रिया




काठमाडौं । स्नातकोत्तर तह (मास्टर्स) को सोधपत्र (थेसिस) लेख्न कसरी खर्च जुटाउने भन्ने चिन्तामा हुनुहुन्छ भने खुशीको खबर छ । थेसिस लेख्नको लागि सरकारले पैसा दिने भएको छ ।

सरकारी निकाय महालेखा नियन्त्रकको कार्यालयले मास्टर्स गरिरहेका विद्यार्थीलाई थेसिस लेख्न छात्राबृत्ति प्रदान गर्ने भएको हो । यसको लागि महालेखा नियन्त्रकको कार्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बीच सम्झौता भएको छ ।

यस्तो छात्राबृत्ति सबै संकायका विद्यार्थीले पाउने भने होइन । पहिलो चरणमा ब्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थीको लागि छात्राबृत्ति दिन महालेखा नियन्त्रकको कार्यालय र त्रिविविको ब्यवस्थापन संकायको केन्द्रीय विभागबीच सम्झौता भएको सहमहालेखा नियन्त्रक दामोदर रेग्मीले जानकारी दिए ।

महालेखाले आफ्नो बार्षिक बजेट कार्यक्रमबाट नै यसरी छात्राबृत्ति दिन लागेको हो । आगामी आर्थिक बर्षदेखि यस्तो कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको रेग्मीले जानकारी दिए ।

महालेखा र केन्द्रीय विभागबीच पहिलो चरणमा ४ जना विद्यार्थीलाई थेसिस लेख्न छात्राबृत्ति दिने सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रत्येक विद्यार्थीले जनही ३५ हजार रुपैयाँ पाउने छन् । यस्तो छात्राबृत्ति पाए वापत उनीहरुले नेपाल सरकारको लगानीका विषयमा थेसिस लेख्नुपर्नेछ ।

‘यो बर्ष ४ जना विद्यार्थीको लागि छात्राबृत्ति दिने सम्झौता भएको हो, छात्राबृत्ति पाउने विद्यार्थीले सरकारको लगानीका सम्बन्धमा थेसिस लेख्नुपर्ने हुन्छ,’ सहमहालेखा नियन्त्रक रेग्मीले क्लिकमाण्डूसँग भने ।

विद्यार्थीले सरकारी लगानी रहेको संस्थान, सार्बजनिक निकाय वा अन्य क्षेत्रमा सरकारी लगानीको सम्बन्धमा थेसिस लेख्नुपर्ने शर्त राखिएको छ । विद्यार्थीको छनोट गरेर केन्द्रीय विभागले महालेखालाई सिफारिस गर्नेछ ।

यसरी छनोट भएका विद्यार्थीलाई एक सातासम्म महालेखा नियन्त्रकको कार्यालयमा ‘इन्टर्नशीप’ गर्नुे अबसर पनि पाउने छन् । यस्तो अबसरले विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गर्न सजिलो हुनेको साथै सरकारको लेखाप्रणाली कसरी चलिरहेको छ भन्ने जानकारी पनि प्राप्त हुने रेग्मीले बताए ।

महालेखाले आफ्नो बार्षिक बजेट कार्यक्रमबाट नै यसरी छात्राबृत्ति दिन लागेको हो । आगामी आर्थिक बर्षदेखि यस्तो कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको रेग्मीले जानकारी दिए ।

‘अर्काे बर्षदेखि अर्थशास्त्र संकायमा अध्ययन गरिरहेका विद्यार्थीलाई पनि यस्तै छात्राबृत्ति दिने सोच बनाएका छौं, छात्राबृत्तिको दायरा फराकिलो बनाउँदै विद्यार्थीलाई ब्यवहारिक ज्ञान प्रदान गर्ने तथा उनीहरुमा भएको शीपको उपयोग गर्ने हाम्रो लक्ष्य हो,’ रेग्मीले भने ।

पहिलो चरणमा केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले मात्रै यस्तो छात्राबृत्ति पाउने छन् ।


क्लिकमान्डु