चर्चित रियालीटी शो नेपाल आइडल विरुद्ध अदालतमा मुद्दा दायर, के होला फैसला ?



काठमाडौं । एपी वान टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नेपालको सबैभन्दा लोकप्रिय ‘सांगितीक रियालीटी सो’ नेपाल आइडल विरुद्ध अदालतमा मुद्दा परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

१५ गतेको टप ४ को एलिमिनेटमा जजका आफू अनुकुलका मान्छेलाई पर्याप्त भोट नआएका कारण त्यो दिन रिजल्ट सार्वजानिक नगरी फेरि भोट आह्वान गरिएको दाबी गर्दै अधिवक्ता न्यौपानेले मुद्दा दायर गरेको क्लिकमाण्डूलाई जानकारी दिए ।

अदालतले सो मुद्दाको पेशी बुधबारलाई तोकेको थियो । सो मुद्दामा आज दिउसो अदालतमा बहस भइसके पनि दिउसो साढे ३ बजेसम्म अदालतले आदेश सार्वजानिक गरेको छैन ।

अधिवक्ता यज्ञमणि न्यौपाने‘जबसम्म आफू अनुकुलको प्रतिस्पर्धीले बढी भोट पाउँदैन तबसम्म रिजल्ट सार्वजानिक नगर्ने मनसाय देखियो, यो न्यायको सिद्दान्त बिपरित छ, त्यसैले मैले मुद्दा दर्ता गरेको हुँ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने।

कसैले कुनै रिजल्ट सार्वजानिक गर्दैन भने त्यसभित्र गलत मनसाय हुने उनको दाबी छ । करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेको उनले बताए । उनी युनिक ल एशोसिएट ल फर्ममा काम गर्छन् ।

‘टप १२ देखि तलका सबै जनताले छान है भनिएको छ । टप ४ मा ४० लाख मत जाहेर भएको छ । त्यसलाई सार्वजानिक नगरी फेरि भोट आह्वान गर्नुको पछाडि सुनियोजित अवस्था छ भन्ने देखिन्छ ।’ उनले भने, ‘आउने शुक्रबार पनि यस्तै अवस्था दोहोरिन्न भन्न सकिँदैन ।’

कतिपयले भने न्यौपानेले सस्तो लोकप्रियताका लागि मुद्दा दायर गरेको बताएका छन् ।


पुष्प दुलाल