सय रुपैयाँमै अर्घाखाँची सिमेन्टको आइपिओ किन्न पाइने



काठमाडौं । तपाईंले अर्घाखाँची सिमेन्टको साधारण सेयर (आइपिओ) प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाउनु हुने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएर सर्वसाधारणलाई सेयर बिक्री गर्ने प्रक्रिया थालेको अर्घाखाँची सिमेन्टले १०० रुपैयाँमै आइपिओ बिक्री गर्ने भएको हो ।

मंसिरभित्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीमा रुपान्तरणका लागि आवेदन दिने र आगामी भदौसम्ममा आइपिओ जारी गर्ने कम्पनीका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए।

प्रबन्धपत्र नियमाबली संसोधन गरी कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ बनाउने र त्यसको कम्तिमा १५ प्रतिशत आइपिओ जारी गर्ने तयारी गरिएको उनले बताए ।

हाल कम्पनीको चुक्ता पुँजी ७७ करोड रुपैयाँ छ । जसअनुसार कम्पनीले करिब १५ रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ ।

‘अहिले प्राइभेट लिमिटेड (प्रालि) रहेको अर्घाखाँची सिमेन्टलाई हामीले पब्लिक कम्पनी लिमिटेड (प्रालि) मा परिवर्तन गर्न करिब करिब आन्तरिकरुपमा प्रबन्धपत्र नियमावली संसोधन गरिसकेका छौं,’ मुरारकाले क्लिकमाण्डूसँग भने, ‘मंसिरभित्रै प्रालिलाई लिमिटेड कम्पनी बनाइने छ । र, आगामी भदौसम्ममा आइपिओ जारी गरिनेछ ।’

प्रिमियम मूल्यमा आइपिओ जारी गर्न लगातार ३ वर्षदेखि नाफामा गएको वासलात प्रकाशित हुनुपर्ने कानूनी व्यवस्था छ । त्यसैले अर्घाखाँची सिमेन्टले फेस भ्यालू (अंकित मूल्यमै) आइपिओ जारी गर्ने उनले बताए ।

‘हामीले चाहेको छ प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने नै हो । तर, कानूनमा ३ वर्षदेखि नाफा कमाएको वासलात सार्वजानिक गरेको कम्पनीले मात्रै प्रिमियम मूल्यमा आइपिओ जारी गर्न पाउने व्यवस्था छ । हामी जतिसक्दो चाँडो आइपिओ जारी गर्न चाहन्छौं, त्यसैले फेस भ्यालू (१००) रुपैयाँमै अर्घाखाँची सिमेन्टको आइपिओ जारी गर्छौं,’ मुरारकाले भने ।

मुरारकाका अनुसार अहिले कम्पनीको नेटवर्थए ६०/६५ रुपैयाँ छ । बजारमा ६०/६५ रुपैयाँ नेटवर्थ भएको कम्पनीको सेयरलाई ‘ब्लु चिप’ मानिन्छ ।

गत मंसिरमा संसोधन भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले उत्पादनमूलक उद्योग (रियल सेक्टर) लाई बजारमा भित्र्याउन विशेष व्यवस्था गरेको थियो । बोर्डले गरेको यस्तो व्यवस्था सँगै उत्पादनमूलक उद्योगहरु पनि आइपिओ जारी गर्न आकर्षित भएका हुन् ।

बोर्डले ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नैपर्ने पुरानो प्रावधानसमेत संशोधन गरि चुक्ता पूँजीको न्युनतम १५ प्रतिशत आइपिओ गर्दा हुने व्यवस्था गरेको छ । जसकारण निजी उरुद्योग चलाइरहेका व्यवसायीहरु आफ्नो कम्पनीलाई पब्लिक कम्पनी बनाउन तयार देखिएका हुन् ।

सर्वसाधारणमा जाँदा भाबी दिनमा उद्योगको क्षमता बिस्तार गर्न वा नयाँ उद्योगका लागि पैसा जुटाउनसमेत सजिलो हुने मुरारकाले बताए ।

‘निजी उद्योगहरुले आएपओ जारी गरे भने निजी क्षेत्रप्रति जनताको विश्वास पनि बढ्छ,’ मुरारकाले भने, ‘आज त समाजले निजी क्षेत्रलाई सकरात्मकरुपमा हेर्दैन ।’

अहिले बैंकको भरमा निजी उद्योगहरु चलेको र यो दीर्घकालीन हुन नसक्ने उनको ठहर छ ।

‘अहिले बैंकमा ऋण माग्न जाँदा इक्विटी जति छ त्यसलाई भ्यालु मान्ने गरिन्छ, आइपिओ जारी गरेपछि त सेयर मूल्यका आधारमा कम्पनीको वास्तविक मूल्याङ्कन हुन्छ। जसकारण भावी दनमा अर्बौंका आयोजना बनाउन सजिलै पैसा जुट्छ’ उनले भने ।

भैरहवामा कम्पनीले २५ विघा क्षेत्रफलमा दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ। केही महिनाभित्रै क्षमता विस्तार गरेर ३५ सय टन बनाउने मुरारकाले बताए ।

भारतको उमा सिमेन्ट इन्टरनेशनलले पनि साझेदारी गरेको कम्पनीको प्रवर्धकमा मुरारका ग्रुपको ३० प्रतिशत, सिद्धार्थ ग्रुपको ३५ प्रतिशत र केडिया ग्रुपको १७.५ सेयर लगानी छ। र, भारतीय साझेदारको पनि १७.५ प्रतिशत लगानी छ। जसको प्रतिनिधित्व मुरारकाले गर्छन् ।

निजी क्षेत्रबाट संचालित उद्योगले विगतमा पनि आइपिओ जारी गरेका थिए । तर केही उद्योगमा सर्बसाधारणको लगानी फसेको छ । तर मुरारकाले आफ्नो स्वामित्व भएको उद्योगमध्ये सबैभन्दा राम्रो प्रतिफल अर्थात् नाफा कमाइरहेको उद्योगकै आइपिओ जारी गर्ने तयारी गरेका हुन् ।

‘पहिलो चरणमा राम्रै नाफा भएको कम्पनीलाई पब्लिकमा लानुपर्छ भनेर अर्घाखाँची सिमेन्टको आइपीओ निष्काशन गर्ने सोच बनाएको छौं,’ उनले भने ।

हाल सेयर बजारमा १८ वटा उत्पादनमूलक उद्योगहरु सूचिकृत भएपनि अधिकांस कम्पनीको सेयरको कारोबार हुँदैन ।

नेपालमा सिमेन्ट, डन्डी, रबर, जुत्ता, चाउचाउ, मदिरा तथा पेय पद्धार्थ लगायतका थुप्रै उत्पादनमूलक उद्योहरु सञ्चालित छन् ।

सर्वसाधारणलाई सेयर जारी गरेका कम्पनीहरुले हरेक तीन महिनामा कम्पनीको सम्पूर्ण वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने हुन्छ । तर, निजी कम्पनीहरुले आफ्नो वित्तीय विवरण सार्वजानिक गर्नु पर्दैन ।

‘निजी क्षेत्रमाथि सर्वसाधारणले पारदर्शीताको प्रश्न पनि उठाइरहेका छन्, जसकारण पनि मैले अर्घाखाँची सिमेन्टलाई पब्लिक कम्पनी बनाएर निजी क्षेत्र पनि पारदर्शी हुन्छ भन्ने प्रमाणित गर्न खोजेको हुँ,’ मुरारकाले भने ।


पुष्प दुलाल