धनगढीबाट काठमाडौंको प्लेन भाडा ३२ सय रुपैयाँ



काठमाडौं । धनगढीबाट काठमाडौं आउने योजनामा हुनुहुन्छ भने अब तपाईँले गाडीबाट यात्रा गर्ने कि हवाई यात्रा गर्ने भनेर सोच्नुपर्ने भएको छ । हवाई जहाज कम्पनीहरुले बसको भन्दा पनि सस्तो मूल्यमा हवाई यात्रुलाई सुविधा दिने भएपछि यस्तो सोच्ने अवस्था आएको हो ।

धनगढीदेखि काठमाडौं आउने यात्रुले अब निकै सस्तो मूल्यमा हवाई यात्रा गर्न पाउनुहुने भएको छ । अब स्वदेशी एयरलाइन्सले धनगढीबाट काठमाडौं आउने यात्रुहरुलाई बसको भन्दा सस्तो मूल्यमा यात्रा गराउने भएका छन् ।

हाल स्वदेशी हवाई कम्पनीहरुले धनगढीबाट काठमाडौंसम्म केबल ३२ सय रुपैयाँमा नै यात्रा गराउन लागेका हुन् । यो रकम हाल धनगढीबाट काठमाडौंसम्म यात्रुलाई सेवा दिने एसी, सस्पेन्सन एसी भएका गाडीहरुले लिने टिकटको करिबी मूल्य हो ।

स्वदेशी हवाई कम्पनी बुद्ध, सौर्य र श्री एयरलाइन्सले धनगढीदेखि काठमाडौंसम्मको हवाई भाडा घटाएर ३२ सय रुपैयाँमा झारेका हुन् । अब केहि दिनसम्म यो मूल्य भन्दा कममा ती हवाई जहाजले यात्रुलाई सुविधा दिने श्री एयरलाइन्सको आधिकारिक टिकट बिक्रेता रोयल काइट्स ट्राभल एण्ड टुर्सका विजय पौडेलले जानकारी दिए ।

‘आजैदेखि धनगढीबाट काठमाडौं उडान गर्ने हवाई कम्पनीहरुले ३२ सयमा टिकट छोडेका छन्, यो मूल्य अझै घट्नसक्छ,’ पौडेलले क्लिकमाण्डुसँग भने ।

उनकाअनुसार यो मूल्य अझै घटेर ३ हजार रुपैयाँसम्म आउन सक्दछ ।

काठमाडौंदेखि धनगढी र धनगढीदेखि काठमाडौंसम्म हाल चारवटा हवाई कम्पनीले ६ वटा उडान गरिरहेका छन् । जसमध्ये श्री र बुद्धले दैनिक २ वटा उडान गरिरहेका छन भने सौर्य र नेपाल एयरलाइन्सले दैनिक १ उडान गरिरहेका छन् ।

यसअघि कम्पनीहरुले ४ हजार रुपैयाँभन्दा माथिको मूल्यमा हवाई टिकट बेचिरहेका थिए ।

अहिले घटेको मूल्य सिमित समयसम्मका लागि मात्र हो । हाल धनगढीबाट काठमाडौं आउने यात्रु पाउन समस्या भएको हुँदा हवाई जहाज कम्पनीहरुले टिकटको मूल्य घटाएका हुन् । तर उनीहरुले काठमाडौंबाट धनगढी जाने हवाई टिकटको मूल्य भने घटाएका छैनन् ।

बुद्ध एयरका बरिष्ठ प्रबन्धक रुपेश जोशीले बिहिवारदेखि बाहिरबाट काठमाडौं आउने हवाई भाडा घटिरहेको जानकारी दिए ।

‘पोहोरभन्दा यो वर्ष केहि दिन अघिदेखि नै हवाई भाडा घटेको हो, प्रतिस्पर्धाले गर्दा दशैंसम्म एकतर्फि भाडा घट्छ,’ जोशीले क्लिकमाण्डूसँग भने ।

धनगढीबाट काठमाडौंसम्मको भाडादर बिहिबारदेखि घटेको र शुक्रबारदेखि बिराटनगर, नेपालगंजदेखि आउने टिकटको मूल्य पनि घट्ने उनले जानकारी दिए ।

त्यसैगरि अधिकांश हवाई कम्पनीहरुले बाहिरबाट काठमाडौं आउने हवाई टिकटको मूल्य कटौती गरेका छन् ।

कम्पनीहरुले बिराटनगरबाट काठमाडौंसम्मको हवाई यात्राको टिकट २३ सय रुपैयाँसम्म घटाएका छन् । त्यसैगरि नेपालगंजदेखि काठमाडौंसम्मको भाडादर ३८ सय रुपैयाँसम्म झरेको छ ।


पुष्प दुलाल