३ करोड भ्रष्टाचार गरेको अभियोगमा विद्युत प्राधिकरणका पूर्व जीएम श्रेष्ठ विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठले २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैर कानूनीरुपबाट सम्पत्ति आर्जन गरेको र मानसिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले आयोगले हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियर पदमा २०३६ चैत ५ गते नियुक्ति भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरेको सम्पत्ति विवरण अमिल्दो रहेको पाइएको आयोगको ठहर छ ।

आयोगकाअनुसार श्रेष्ठले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं विश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा २ करोड ८८ लाख ८२ हजार ८९१ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।

आयोगले बिगो अनुसारको जरिवाना र कैद सजाय माग गरेको छ ।

भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएकाले जफत गर्ने मागदावी समेत आयोगले जनाएको छ ।


पुष्प दुलाल