किष्ट बैंकको करोडौं ठगरेर फरार भएका कमल ज्ञवाली कहाँ छन् ?



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले यही भदौ ८ गते तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार भएकी देवकी वस्ताकोटीलाई पक्राउ गर्यो ।

काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशन प्रालिकी सञ्चालक समेत रहेकी ४२ वर्षिय बस्ताकोटीलाई सीआइबीले बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो ।

भक्तपुर जिल्ला दुवाकोट घर भएकी बस्ताकोटी प्रहरीबाट पक्राउ पर्नबाट जोगिन भागीभागी हिँडेकी थिइन् । सीआइबीले अदालतको फैसला कार्यान्वयनका लागि मोरङ्ग जिल्ला अदालतमा पेश गरिसकेको छ ।

वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनले २०७३ जेठ ३ गते बैंकिङ कसूर गरेको ठहर गर्दै ४ बर्ष कैद र ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरीवानाको सजाय सुनाएको थियो ।

०५२ सालमा १० हजार रुपैयाँ बोकेर ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए । ज्ञवालीले करिब ३ अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो ।

वस्ताकोटीले ब्यबसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि भन्दै बैंकका तत्कालिन प्रमुख कमल ज्ञवालीको सहयोगमा किष्ट बैैंकबाट कर्जा लिएकी थिइन् ।

जम्को प्रकाशन काण्डमा मुछिएका कमल ज्ञवाली पनि करोडौं ठगी गरेर फरार छन् ।

ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनले ०७३ असोज ५ गते कमललाई ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ ।

साढे ३ वर्षअघि देखि नै प्रहरीले ज्ञवालीलाई खोजिरहेको छ । तर, अहिलेसम्म फेला पार्न नसकेको छैन सीआइबीकी प्रवक्ता मिरा चौधरी बताउँछिन् ।

‘अदालतले जेल र जरिवानाको सजायँ सुनाएपछि ज्ञवालीको खोजी कार्यलाई तीब्र बनाएका छौं,’ सीआइबीकी प्रवक्ता चौधरीले क्लिकमाण्डूसँग भनिन्, ‘शंकास्पद विभिन्न ठाउँमा खोज्यौं पनि । तर, अहिलेसम्म फेला पार्न सकेका छैनौं।’

ज्ञवाली आधाजसो विदेश बस्ने गरेको स्रोतहरुको दाबी छ । जसकारण प्रहरीले पक्राउ गर्न कठिन भएको हो ।

कसरी गरे ठगे ?

उजुरी परेपछि राष्ट्र बैंकले ०६९ मा ज्ञवालीमाथि छानबिन गर्‍यो । छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दिइयो । किष्टले जम्कोबाट तत्कालै साढे ३ करोड रुपैयाँ उठायो पनि ।

सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । तर, ऋणी किशोर ढकाललाई भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न सीआईबीलाई पत्राचार गरियो ।

सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि ०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्‍यो । कमल भेटिएनन् । गौरीलाई केही समयमा धरौटीमा छुटाइयो ।

यसरी फसे

०६२/६३ सालतिर काठमाडौंमा घरजग्गाको भाउ अचाक्ली बढ्यो । पैसाका भोका ज्ञवाली घरजग्गाको कारोबारमा सक्रियताका साथ संलग्न भए । पार्टनरसिपमा जग्गा प्लटिङ पनि गर्थे उनी ।

बैंकहरुले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए । किष्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पथ्र्यो । यसबेला सम्ममा ज्ञवालीले करिब ३ अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो ।

घरजग्गाकै कारण सन् २००८ को विश्व आर्थिक मन्दी आयो।  गभर्नर विजयनाथ भट्टराईको पालामा राष्ट्र बैंकले ०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गर्‍यो । राष्ट्र बैंकको त्यही परिपत्रपछि सुरु भयो घरजग्गा करोबारमा मन्दी । जुन अहिलेसम्म माथि उठ्न सकेको छैन ।

ज्ञवालीको ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी थियो । यस्तै, ०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर थियो ।

किष्ट बैंकमा मात्र उनले आफ्नो र अरुको नाममा किनेको गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो ।

०६६ पछि घरजग्गाको कारोबार ठप्प जस्तै भयो । सेयर बजार लगातार घट्यो । तरलता अभावलगायतका समस्याका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्‍यो । १ वर्षको अवधिमा भएका यी ३ वटा घटना ज्ञवालीका लागि आकाश खसे झैं भयो ।

आफूसँग भएको सेयर र घरजग्गा बेचेर त्यसबेलै ऋण सल्टाएका भए उनी आज यो स्थितिमा आइपुग्थेनन् । तर, केही समयमै घरजग्गा र सेयरको मूल्यमा सुुधार आउला भन्ने आशमा उनले पहिलेको ऋण थेग्न थप ऋण गरे ।

तर, संकट टरेन । उनी झन् समस्यामा फस्दै गए ।

०५२ सालमा १० हजार रुपैयाँ बोकेर ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए ।

गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हात हाले ।

ज्ञवालीकै अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो । त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइएको थियो ।

ज्ञवालीविरुद्ध सीआइबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किष्ट बैंकले आफ्नो अस्तित्व गुमाएको छ । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरिसकेको छ ।

किष्ट किनेको प्रभुले भने ०७१ माघ १३ गते ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ९व्याजसहित २३ करोड रुपैयाँ असूल पनि गरिसकेको छ ।

नजिकबाट चिन्नेहरुका अनुसार ज्ञवाली अति नै महत्वाकांक्षी थिए । महत्वाकांक्षाकै कारण उनी मध्यमवर्गीय परिवारबाट अर्बपति बने । र, त्यही महत्वकांक्षले उनी अर्बपतिबाट सडकमा झरे ।


पुष्प दुलाल