दशैँमा पनि चामल अभाव हुने



जाजरकोट । जिल्लाको बारेकोट क्षेत्रमा दशैँमा समेत चामल अभाव हुने भएको छ ।

चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशैंअघि चामल पुग्ने अवस्था छैन । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँलगायतका गाउँमा खाद्य संकट परेको छ ।

गाउँमा किनेर खान पनि अन्न छैन । गाउँमै उत्पादित अन्नले वर्ष दिनमा ६ महिना समेत खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलको भर पर्नुपर्छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठ्यारो भएकाले निजी क्षेत्रका व्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो ।

यतिबेला चामलको माग अत्यधिक छ । तर डिपो रित्तै छ । खाद्य संस्थानले चालु आर्थिक वर्ष २०७४÷७५ को चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एण्ड सरोज कन्सट्रक्सन सेवा खलंगा– २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ ।

तर १५ दिने सूचना जारी गरेर सल्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ । सप्लायर्सलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । सो म्यादको अन्तिम मिती असोज ७ मा पुग्छ । असोज ५ गतेदेखि दशैँ शुरु भइहाल्छ । ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ ।

‘हामीले दशैं अघि बारेकोटमा चामल पु¥याउने कोसिस गरिरहेका छौ’, खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भने । सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताए ।

अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन । खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर रहनुभएको छ । निमित्त प्रमुख रामप्रसाद पौडेल आफूलाई यसबारे जानकारी नभएको बताए ।

सप्लायर्सले आगामी असारभित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट गाउँका डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल चामल एक हजार ४७५ मा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ । बाटो बिग्रेकाले यतिबेला सदरमुकामबाटै घोडा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ ।

तिहारपछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकाले त्यतिखेर ठेकदारलाई ढुवानीमा सस्तो पर्ने हुन्छ । तत्काल ठेकदारले चामल ढुवानी गर्नेमा स्थानीयवासीले आशंका गरेका छन् । सदरमुकामबाट बारेकोटसम्म खच्चडमार्फत ढसवानी गर्दा प्रतिक्वीन्टल रु दुई हजार तिर्नुपर्छ । बारेकोट गाउँपालिका– ४ का वडाध्यक्ष सिर्जना बस्नेतले दशैँ अघि चामलको व्यवस्था गर्न सरकारसँग माग गरे ।

‘दुई छाक भात खान पाए हाम्रा लागि त्यही ठूलो दशैँ हुने थियो’,उहाँले भने । उनले तत्काल चामल पठाउन सरकारसँग माग गरे । रासस


क्लिकमान्डु