राजस्व छली रोक्न भन्सार र आन्तरिक राजस्वको एकिकृत वेबलिंक प्रणाली



काठमाडौं । आन्तरिक राजस्व विभागले न्यून बिजकीकरण र राजस्व छलीको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ भन्सार विभागसँग समन्वयन गर्ने भएको छ ।

विभागले भन्सारको सफ्टवेयरसँग सिधै आफ्नो सफ्टवेयरबाट नेटवर्किङ गरेर सम्पर्क गर्न सकिने कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक किशोरजंग कार्कीले केहि दिन भित्रै विभागले भन्सारसँग वेबलिंकमार्फत राजस्वको बारेमा सूचनाहरु आदान प्रदान गर्न लागेको बताए ।

हामीले केहि दिन भित्रै भन्सारको आसिकुडा प्रणालीमा सिधै जोडिने गरि वेबलिंकमार्फत राजस्वको सूचना लिने प्रणाली बनाउँदैछौं, यसले रियल टाइमको जानकारी दिनेछ, महानिर्देशक कार्कीले क्लिकमाण्डुसँग कुराकानी गर्दै भने ।

यस्तो सेवाले भविश्यमा राजस्व छली गर्ने क्रम घट्ने र पारदर्शिता कायम हुन सहयोग गर्ने महानिर्देशक कार्कीको भनाई छ ।

सो बेवलिंकपछि राजस्व विभागले भन्सारको सफ्टवेयरबाट सिधै कुन मूल्यमा कुन कम्पनीले कुन सामान आयात गरेको छ र कति राजस्व तिरेको छ भन्ने जानकारी हसिल गर्न सक्दछ ।

विभागले काम कारवाहिहरुलाई पारदर्शि र सूचना प्रविधि मैत्री बनाउने उद्देश्यका साथ भन्सारसँग वेबलिंक गर्न थालिएको जानकारी दिएको छ । विभागले सूचना प्रविधि मैत्री बनाउने उद्देश्यका साथ अन्य प्राविधिक विषयहरुमा पनि ध्यान दिन थालेको जनाएको छ ।

हालै आन्तरिक राजस्वको २१ बुँदै जारी घोषणा पत्रमा पनि भन्सार विभागसँग समन्वयन गरिने उल्लेख छ ।

सो घोषणा पत्रमा अर्थ मन्त्रालय अन्तर्गतका विभागहरु बीच एकीकृत विद्युतीय सूचना प्रणाली स्थापना गर्ने सन्दर्भमा यस आवमा भन्सार विभाग र आन्तरिक राजस्व विभागको विद्युतीय प्रणाली बीच इन्टरकनेक्टिभिटी गरिने लेखिएको छ ।


क्लिकमान्डु