साउदीलाई जित्यो कतारले, नेपालमा कुन देशबाट कति रेमिट्यान्स आउँछ ? (सूचिसहित)



काठमाडौं । शंकै छैन, वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले नेपालको अर्थतन्त्र धानिरहेको छ भन्नेमा ।

नेपाली युवाहरु विदेशी भूमिमा काम गर्न नगएका हुन्थे त यतिबेला देशको राजनीतिमा समेत उथलपुथल नै भइसकेको हुन्थ्यो । बढ्दो बेरोजगारीले युवाहरु बिचलित हुन्थे । र, त्यो बिचलन विभिन्न विद्रोही शक्तिहरुमा रुपान्तरित भइसकेको हुन्थ्यो ।

तर, धन्य । युवाहरु विदेशिएका छन् । देशमा पैसा भित्रिएकै छ । अर्थतन्त्र चलेकै छ । र, नेताहरु ढुक्कसँग राजनीति गर्न पाएकै छन् ।

बैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार दैनिक करिब १५ सय युवाहरु रोजगारी खोज्दै विदेशिन्छन् । बैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश लेबरमा जाने हुन् । यदि यतिनै संख्यामा दक्ष (शैक्षिक योग्यता प्राप्त र प्राविधिकहरु) विदेशिएका हुन्थे भने देश भित्रिरहेको रेमिट्यान्स अहिलेको भन्दा ३/४ गुणाले बढी हुन्थ्यो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ । जबकी गत आर्थिक वर्षको सरकारको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको थियो । चालू आर्थिक वर्षका लागि भने सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

गत वर्षको तथ्यांक हेर्दा देशको कूल बजेटको करिब ६० प्रतिशत रकम रेमिट्यान्सबाट प्राप्त भएको देखिन्छ ।

पहिलेपहिले नेपालमा मलेसियाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिन्थ्यो । पछिल्ला केही वर्ष मलेसियालाई साउदी अरबले उछिनेको थियो ।

तर, गत वर्ष भने कतार साउदी अरेबियालाई उछिन्दै सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देश बन्न सफल भएको छ । गत वर्ष कतारबाट १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कूल रेमिट्यान्सको १५ प्रतिशत हो ।

त्यसैगरी, ९८ अर्ब ८६ करोड रुपैयाँ पठाउँदै साउदी अरेबिया सबैभन्दा धेरै रेमिट्यान्स पठाउनेको सूचिमा दोस्रो नम्बरमा परेको छ । नेपाल भित्रिने कूल रेमिट्यान्समा साउदीको हिस्सा १४.२ प्रतिशत हो ।

त्यस्तै, ९० अर्ब ८४ करोड रुपैयाँ पठाउँदै छिमेकी राष्ट्र भारत नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशको सूचिको तेस्रो नम्बरमा परेको छ । यो कूल रेमिट्यान्सको १३.१ प्रतिशत हिस्सा हो ।

भारतबाट अझै पनि औपचारिक च्यानलबाट निकै कम मात्रै रेमिट्यान्स आउने गरेको छ । राष्ट्र बैंकले औपचारिक च्यानलबाट आएको रेमिट्यान्सलाई मात्रै यो तथ्यांकमा समावेस गरेको हो ।

कोरिया, भारतलगायतका देशबाट अझैपनि औपचारिक च्यानलबाट निकै कम मात्रै रेमिट्यान्स आउँछ । राष्ट्र बैंकले सार्वजानिक गर्ने तथ्यांकमा अनौपचारिक च्यानलबाट आएको रेमिट्यान्सलाई गणना गरिएको हुँदैन ।

त्यसैगरी, केहीवर्ष अघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स पठाउने मलेशिया गत वर्ष खुम्चिएर चौथो स्थानमा झरेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष मलेशियाबाट ६८ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कूल रेमिट्यान्सको ९.९ प्रतिशत हिस्सा हो ।

त्यस्तै, ६२ अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स पठाउँदै जापान नेपालको रेमिट्यान्समा योगदान गर्ने पाँचौं देश बनेको छ । जापानले पठाएको सो रेमिट्यान्स कूल रेमिट्यान्सको ९ प्रतिशत हो । जापानमा विद्यार्थी भिजामा गएर काम गर्ने नेपालीहरुले सो रेमिट्यान्स पठाएका हुन् ।

त्यसैगरी, नेपालीहरुको रोजगारीका लागि आकर्षक गन्तव्य संयुक्त अरब इमिरेट्स (युएइ) बढी रेमिट्यान्स पठाउने देशको सूचिमा छैठौं नम्बरमा परेको छ । युएइबाट गत आर्थिक वर्ष ५२ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो । यो कूल रेमिट्यान्सको ७.५ प्रतिशत हो ।

त्यस्तै, १२ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स पठाउँदै बहराइन नेपालमा बढी रेमिट्यान्स पठाउने देशहरुको सूचिमा सातौं स्थानमा परेको छ । बहराइनबाट नेपाल आएको रेमिट्यान्स कुल रेमिट्यान्सको १.८ प्रतिशत हो ।

त्यसैगरी, कुबेतबाट ९ अर्ब ८ करोड, बेलायतबाट ६ अर्ब ७४ करोड, अष्ट्रेलियाबाट ६ अर्ब ७२ करोड, कोरियाबाट ५ अर्ब, क्यानडाबाट २ र्अ ७ करोड, इजरायलबाट ८३ करोड, लेबनानबाट ५७ करोड र अमेरिकालगायतका अन्य देशबाट १ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ ।

नेपाल आएको कूल रेमिट्यान्समा उनीहरुको हिस्सा क्रमशः १.३, १, १, ०.७, ०.३, ०.१, ०.१ र २५.१ प्रतिशत हो ।


पुष्प दुलाल