भदौ ३० देखि काठमाडौंमा राष्ट्रिय धागो मेला



काठमाडौं । नेपालमै पहिलोपटक स्वदेशी धागो तथा कपडा मेला हुने भएको छ । नेपाल धागो उत्पादक संघले भदौ ३० गतेदेखि असोज ३ गतेसम्म नेपाल यार्न तथा टेक्सटाइल एक्स्पो-२०१७ को आयोजना गर्दैछ ।

राजधानीको भृकुटीमण्डपमा हुने मेलामा नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु (कपडा, होजियरी, सर्टिङ/सुटिङ, निटिङ) आदि वस्तुहरुको स्टल राखिने छ ।

आधुनिक प्रविधीका मेशीनरीहरु समेत प्रदर्शनिमा राखिएको हुँदा उद्योगिहरुलाई नयाँ प्रविधी तथा मेशिनरीहरुको जानकारीको थप अवसर प्राप्त हुने आयोजकको विश्वास छ ।

हाल संचालनमा रहेका उद्योगहरुमा रिलायन्स स्पिनिङ्ग, त्रिवेणी स्पिनिङ्ग, जय स्पिनिङ्ग तथा जगदम्बा स्पिनिङ लगायत संघमा आवद्ध छन् । संघको स्थापना वि.सं २०५३ सालमा भएको हो ।

संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरि हाल वार्षिक रुपमा करिब ४० हजार मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेका छन् ।

संघका अध्यक्षm पवन गोल्यानले दिएको जानकारीअनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । विगत देखि भारतमा निर्यात गर्दै आएकोमा, ६/७ वर्षदेखि तेश्रो मुलुकमा समेत निर्यात भइरहेको छ र वार्षिकरुपले निर्यात दरमा वृद्धिसमेत भईरहेको छ ।

स्वदेशमा कपडा उद्योगको विकास तीन दशक अगाडि देखि भएता पनि यसको विकासको लागि दुइ दशक अगाडिबाट धागो उद्योगको स्थापना तथा विकास भएको हो ।

नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेयटर, झुल आदि विभिन्न प्रकारको कपडा उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् ।

यी धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५० हजार जनाको लागि रोजगारीको अवसर सृजना गरीरहेका छन् भने ३० प्रतिशत महिलाको संख्या रहेको छ ।


पुष्प दुलाल