अब पुलिस र ट्राफिकसँग फोन नगरी पनि सम्पर्क गर्न सकिने




काठमाडौं । अब नेपाल प्रहरीले संचालन गरिरहेको आकस्मिक सेवाका नम्बरहरुमा एसएमएस गरेर पनि सूचना लिन वा दिन सकिने भएको छ । नेपाल प्रहरीले हाल संचालन गरिरहेको १०० र ट्राफिक प्रहरीले संचालन गरिरहेको १०३ नम्बरमा अब संदेशमार्फत जानकारी दिन वा लिन सकिने भएको हो ।

दुबै नम्बरहरुमा एसएमएस पठाउन सकिने प्रणालीको शुरुवात छिटै संचालन हुन लागेको नेपाल दूरसंचार प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

यस्तो सेवाका लागि प्राधिकरणले चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ

हालसम्म ती नम्बरहरुमा फोन गरेर मात्र सूचना तथा जानकारी लिन वा दिन सकिने सुविधा रहेको छ ।

नयाँ प्रणाली लागू भएपछि बोल्न नसक्ने व्यक्तिहरु वा आकस्मिक अवस्थामा बोल्न नमिल्ने समयमा पनि प्रहरीलाई सूचना पठाउन सकिनेछ ।

‘यस्तो सेवा संचालन भएपछि फोन गर्दा नलाग्ने वा व्यस्त भएको बेलामा एसएमएस संदेश पठाएर पनि जानकारी लिन दिन सकिन्छ, यस्तो सेवाका लागि प्राधिकरणले चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ,’ प्राधिकरण स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

प्रहरीका दुबै आकस्मिक नम्बरहरुमा फोन गर्दा हाल शुल्क नलाग्ने व्यवस्था भएजस्तै एसएमएस पठाउँदा पनि कुनै शुल्क लाग्ने छैन ।

प्रहरीले संचालन गरिरहेको आकस्मिक सेवाका तीन अंकका नम्बरहरु १०० र १०३ मा एसएमएस म्यानेजमेन्ट सफ्टवेयर मार्फत एसएमसएस पठाउन सकिने प्रणालीको विकास गरिएको हो । यो सफ्टवेयर प्राधिकरणमार्फत एफवान सफ्ट प्रालिले निर्माण गरेको हो ।

सो प्रणाली हाल जडान कार्य हुँदै गरेको र एसएमएस गेटवेको कामपछि छिटै सेवा संचालन हुने बताईएको छ ।

यस्तो एसएमएस सेवा १०० र १०३ नम्बरको व्यवस्थापन गरिरहेका महानगरीय प्रहरी कार्यालय र महानगरीय ट्राफिक महाशाखाले नै ती एसएमएसहरुको व्यवस्थापन र संबोधन गर्ने जानकारी दिईयो ।

त्यसैगरि प्राधिकरणले १०४ नम्बरमा पनि यस्तो सेवा संचालन गर्न सकिने बारेमा अध्ययन गरिरहेको र हालका लागि दूरसंचार सेवा प्रदायकहरुबाट पिएबिएक्स लाइनमार्फत जोड्ने कार्य हुन लागेको छ ।

यस्तो सेवामा प्राधिकरणले आकस्मिक नम्बर अत्यावश्यक हुने भएको र एक्सेस टू नम्बरिङ्ग अन्तर्गत आर्थिक सहयोग गरिएको जानकारी दिएको छ ।


क्लिकमान्डु