राजस्वको बजार अनुगमनः पहिलो दिन नै ३९ फर्म कारबाहीमा




काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तरगतका कार्यालयहरुले सुरु गरेको बजार अनुगमनको पहिलो दिन नै ३९ फर्ममाथि कारबाही भएको छ ।

विभागले मंगलबार (हिजो) देखि कर कार्यालयहरु तथा करदाता सेवा कार्यालयहरुको प्रत्येक कार्यालयबाट ३ टोलीको दरले बजार अनुगमन सुरु गरेको थियो । देशभरका कर कार्यालयहरुबाट १०३ टोली अहिले बजार अनुगमनमा छन् । प्रत्येक टोलीमा ३ जना सदस्य छन् ।

आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारी अनुसार पहिलो दिन कर कार्यालयहरुको ७६ टोली बजार अनुगमनमा निस्किएका थिए । ती टोलीले मंगलबार ३५४ फर्ममाथि अनुगमन गरेका थिए ।

यसरी अनुगमन गर्दा विलविजक जारी नगर्ने, खरिद र बिक्री खाता अध्यावधिक नगर्ने जस्ता कैफियत भेटिएका ३९ फर्ममाथि कानुन अनुसारको कारबाही भएको विभाग स्रोतको भनाइ छ ।

नेपालीहरुको ठूला चाड तथा पर्वहरु दशै र तिहारमा बढी उपभोग हुने समय पारेर विभागले बजार अनुगमनलाई तिव्रता दिएको हो । कर असुलीलाई प्रभावकारी बनाउन र करदाता शिक्षामा जोड दिन यस्तो अनुगमन गरिएको विभागको भनाइ छ ।


क्लिकमान्डु