राजस्वको बजार अनुगमनः दोस्रो दिन ११० व्यापारी कारबाहीमा



काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तरगतका कार्यालयहरुले सुरु गरेको बजार अनुगमनको दोस्रो दिन अर्थात बुधबार ११० भन्दा बढी व्यावसायिक फर्महरुलाई कारबाही गरेको छ । बुधबार ५ सय ६६ वटा व्यवसायिक फर्ममा अनुगमन गरिएको थियो ।

देशभरका सबै कर कार्यालयहरुले एकैपटक मंगलबारदेखि बजार अनुगमन सुरु गरेका थिए । पहिलो दिनको अनुगमनमा ३९ फर्म कारबाहीमा परेका थिए ।

विभागले कैफियत भेटिएका व्यावसायिक फर्महरुलाई स्थलगत कारबाही गर्दा ८ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तिराएको छ ।

विभागले कर कार्यालयहरु तथा करदाता सेवा कार्यालयहरुको प्रत्येक कार्यालयबाट ३ टोलीको दरले बजार अनुगमन सुरु गरेको हो ।

देशभरका कर कार्यालयहरुबाट १०३ टोली अहिले बजार अनुगमनमा छन् । प्रत्येक टोलीमा ३ जना सदस्य छन् ।

यसरी अनुगमन गर्दा विलविजक जारी नगर्ने, खरिद र बिक्री खाता अध्यावधिक नगर्ने जस्ता कैफियत भेटिएका फर्ममाथि कानुन अनुसारको कारबाही भएको विभाग स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो ।

नेपालीहरुको ठूला चाड तथा पर्वहरु दशै र तिहारमा बढी उपभोग हुने समय पारेर विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो । कर असुलीलाई प्रभावकारी बनाउन र करदाता शिक्षामा जोड दिन अनुगमन गरिएको विभागको भनाइ छ ।


पुष्प दुलाल