भरतपुरबाट ११ मिनेटमै पोखरा, पहिलो पटक गोल्डेन रुटमा हवाई मार्ग जोडियो



काठमाडौं । देशकै ३ प्रमुख पर्यटकीय गन्तव्य हवाई मार्गबाट आपसमा जोडिएका छन् । यसअघि राजधानी काठमाडौं र पोखरामा नियमित हवाई उडान गर्दै आएको बुद्ध एयरले गत साताबाट पोखरा-भरतपुर र पोखरा-भैरहवाको उडान शुरु गरेपछि तीन पर्यटकीय शहर हवाई मार्गमा जोडिएका हुन् ।

नारायणगढ-मुग्लिङ सडक स्तरोन्नतिको क्रममा रहेकाले पर्यटक आगमन प्रभावित भएको भन्दै पर्यटन व्यवसायीको आग्रहमा बुद्ध एयरले भरतपुर-पोखरा उडान शुरु गरेको हो ।

पोखरा-भरतपुर ३ हजार ६ सय ५० रुपैयाँ र पोखरा–भैरहवाका लागि ४ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ ।

बुद्ध एयरले पहिलो पटक गत साता शुक्रवार पोखरा-भरतपुर उडान प्रारम्भ गरेको थियो । पोखरा-भरतपुर ११ मिनेटको उडान हो । पोखरा-भैरहवा उडान भने २० मिनेटको यात्रा हो ।

बुद्ध एयरका अनुसार पोखरा-भरतपुर ३ हजार ६ सय ५० रुपैयाँ र पोखरा-भैरहवाका लागि ४ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ । उडान सुरुगरेसंगै हाल बुद्धले नियमित उडान गरिरहेको छ ।

पोखराबाट भरतपुर र भैरहवा हवाई सेवा शुरु भएसँगै नारायणगढ-मुग्लिङ सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सहज हुने पर्यटन व्यवसायीको अपेक्षा छ ।

पर्यटन प्रवद्र्धनका लागि यो अभियानले क्षेत्रीयस्तरमा पर्यटक आगमनमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको विश्वास छ । भैरहवाबाट सिधै भारतीय पर्यटक पोखरा आउन सहज भएको छ । यसले उल्यख्य मात्रामा भारतीय पर्यटक र अन्य खर्चालु पर्यटकको आगमन बढाउने अपेक्षा व्यवसायीको छ ।

भारतीय पर्यटकले सिद्धार्थ राजमार्ग र मुग्लिङ-नारायणगढको सडकको अवस्था नाजुक भएको भन्दै सडकको स्तरोन्नति गर्न वा हवाई सेवा विस्तार गर्न आग्रह गर्दै आएका थिए ।

यसअघि २०६१ सालमा सांग्रिला एयरले पोखरा-भरतपुर उडान शुरु गरेको थियो । त्यसलगत्तै स्काइलाइन एयरले पनि केही समय नियमित उडान गरेको छ । तर, आठ महीनामै दुवै एयरले उडान बन्द गरेका थिए ।

नयाँ रुटमा उडान थालेको बुद्ध एयरले यात्रुको चाप बढेको अवस्थामा ४७ सीट क्षमताको जहाजबाट उडान गर्ने बजार प्रवन्धक बिनीता थापा बताउँछिन् ।

भूकम्प, नाकाबन्दी, मुग्लिङ-नारायणगढ सडकको अवस्था र पछिल्लो समय आएको बाढी पहिरोका कारण थलिएका चितवन तथा सौराहाका पर्यटन व्यवसायीको आग्रहमा उडान सुरु गरेको थापाको भनाई छ ।


क्लिकमान्डु