दशैंका लागि राष्ट्र बैंकले पठायो १३ अर्ब नयाँ नोट



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि १३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले भदौ २८ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।

मंगलबारसम्ममा राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बजारमा पठाइसकेको राष्ट्र बैंकको नोट विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

‘यो वर्षको दशैंका लागि राष्ट्र बैंकले करिब१३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाइसकेका छौं,’ कार्यकारी निर्देशक निरौलाले क्लिकमाण्डूसँग भने भने ।

गत वर्षको दशैंमा राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ बराबरका विभिन्न दरका नयाँ नोट बजारमा पठाएको थियो ।

गत वर्षको भन्दा यो वर्ष नोट सटही गर्ने समय ३ दिन बढी भएको, सर्वसाधारणको खर्च गर्ने क्षमता बढेको र बढी सटही सुविधा उपलब्ध गराइएकाले गत वर्षभन्दा बढी नोट बजारमा पठाइएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । ५, १०, २० ५० र १०० रुपैयाँ दर नयाँ नोट साट्न पाइने छ ।

राष्ट्र बैंकले बढीमा एकजना सर्वसाधारणलाई २७ हजार रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराउने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ ।

तर, नेपाल बैंक, कृषि विका बैंक र राष्ट्रिय वाणिज्य बैंकमा गएर नयाँ नोट साट्नु परे २० हजार रुपैयाँभन्दा बढी पाइने छैन ।

राष्ट्र बैंकले यसअघि आफ्नो आफैंले मात्रै सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट बाँड्थ्यो भने बैंकहरुलाई पनि नयाँ नोट दिन्थ्यो ।

तर, यस वर्ष भने ३ वटै सरकारी बैंकका १६ शाखाबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको थियो।


पुष्प दुलाल