पोखरेल र कार्कीलाई एनआरएनए पत्रकारिता पुरस्कार



एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतबाट नवीन पोखरेल र  नेपालबाट होम कार्कीलाई  प्रदान गरिएको छ । एनआरएनए आठौं विश्व सम्मेलन समापन समारोहमा मंगलबार उक्त पुरस्कार प्रदान गरिएको हो । जनही ५० हजार पाँचसय रुपैयाँ र ताम्रपत्र रहेको पुरस्कार कार्की र पोखरेल अनुपस्थित रहेकाले बाबु रामचन्द्र पोखरेल मार्फत हस्तान्तरण गरियो ।

हरेक दुई वर्षमा हुने एनआरएनए विश्व सम्मेलनका अवसरमा प्रदान गरिने उक्त पुरस्कार एनआरएनए यूके र  पत्रकार महासंघ यूके शाखाद्वारा संयुक्त रुपमा स्थापना  गरिएको हो । पुरस्कार प्रवासी नेपालीकाबारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई  प्रदान गरिन्छ ।

कान्तिपुर दैनिकमा आवद्ध कार्कीले लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्या र वीनेपालीका प्रधानसम्पादक एवं कान्तिपुरमै कार्यरत पोखरेलले एक दशकदेखि बेलायत बसेर नेपालीकाबारेमा रिपोर्टिङ गर्दै आएका छन् । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनोट समितिले कार्की र पोखरेललाई संयुक्तरुपमा उक्त पुरस्कारका लागि छनोट गरेको थियो । पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरले पुरस्कारबारे जानकारी गराएका थिए ।


क्लिकमान्डु