फास्ट ट्रयाक बनाउन सेनाले राख्यो १० बेस क्याम्प, काठमाडौंसँग यसरी जोडिँदैछ तराई



काठमाडौं । काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि नेपाली सेनाले विभिन्न १० स्थानमा बेस क्याम्प खडा गरेको छ । आयोजना निर्माण शुरु गर्न आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प स्थापना गरिएको हो ।

नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले उक्त बेसक्याम्पको काठमाडौँको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गरे ।

सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाएको बताउँदै निर्धारित समयमा नै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कूल ७६.२ किमी लम्बाइको द्रुतमार्ग निर्माणका लागि सेनाले सो क्षेत्रअन्तर्गत खोकना, मख्खु, कुलेखानी, महादेव, डेड्री, लानीडाँडा, बुदुने, राजटामार, अन्धेरी र निजगढ गरी १० स्थानमा सैनिक बेसक्याम्प निर्माण गरी आयोजनाको काम एकैसाथ द्रुत गतिमा अघि बढाइने सेनाले जनाएको छ । जसमध्ये ५ बेसक्याम्पको निर्माण अन्तिम चरणमा रहेको सेनाले जनाएको छ ।

सरकारले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । आयोजनाको निर्माणका लागि सरकारले भारतीय कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन खरिद गर्ने तयारी गरेको छ ।


पुष्प दुलाल