तेह्रथुममा खुल्यो २ दर्जन सुबिधा सम्पन्न होटल, अर्गानिक खाना मुख्य आकर्षण



तेह्रथुम । जिल्लामा वर्षेनी ठूला लगानीका होटल खुल्ने क्रम जारी छ । पर्यटकलाई लक्ष्य गर्दै जिल्लाका विभिन्न बजार तथा गाउँका बस्तीमै पनि वर्षेनी सुविधा सम्पन्न होटल, रिसोर्ट र रेष्टुराँ खुलिरहेका छन् ।

यसरी खुलेका होटल तथा रिसोर्ट कुनै न कुनै खास विशेषताले पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै मात्र फेदाप गाउँपालिका-२, ओयाक्जुङस्थित खोरुंगा खोलाको किनारमा अत्याधुनिक सेवा सुविधासहितको सांग्रिला रिसोर्ट सञ्चालनमा आएको छ ।

स्थानीय कुखुरा, माछा, खसी, अर्गानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ ।

खोलाको किनारमै खुलेको यो रिसोर्ट अहिले प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाका परिकार, स्थानीय उत्पादन र परम्परागत खाद्य सामग्री, स्विमिङ पुल, आवासीय तालीम हल र सुविधायुक्त लजले चर्चामा छ ।

करिब एक करोड रुपैयाँ लगानीमा खुलेको यो रिसोर्टमा रमाउन मानिसहरु विभिन्न ठाउँदेखि गाडी लिएरै पुग्ने गरेका छन् । अर्गानिक स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उद्देश्यले रिसोर्ट खोलिएको सञ्चालक दुर्गाबहादुर लिम्बूले बताए ।

यहाँ पुग्न सदरमुकाम म्याङ्लुङदेखि करिब ३० मिनेट मात्र लाग्छ । सांग्रिला रिसोर्ट जस्तै चर्चामा छ पिप्लेमा खुलेको ‘डाउनहिल कटेज’ पनि । म्याङ्लुङ नगरपालिका–३ मा रहेको सो कटेजका पस्किइने स्थानीय कुखुरा, माछा, खसी, अर्गानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनकै लागि आफूले व्यवसाय थालेको सञ्चालक राजु गड्तौला बताउछन् ।

डेढ वर्षदेखि सञ्चालनमा रहेको कटेजले पनि देशीविदेशी सबै ग्राहकलाई खुशी पार्न सकेको सञ्चालक बताउँछन् । गड्तौलाले कटेजमा ५० लाखभन्दा बढी लगानी गरिसकेको बताए ।

लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्ष्यित होटल थपिनेक्रम बढेको होटल व्यवसायी संघका सचिव चेतन सुवेदीले जानकारी दिए।

पछिल्लो वर्ष आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’ । पहिलेदेखि नै कालापानी नामले परिचित ठाउँमा रेन्बो ट्राउट माछापालनसँगै खुलेको यो रिसोर्ट कृषि पर्यटनका दृष्टिले अहिले निकै चर्चामा छ ।

ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि हजारौँ मानिस आइपुग्ने गरेका सञ्चालक धर्मराज खड्काले बताए । गुराँस हेर्न र रमाउन आउनेहरु यो रिसोर्टसम्म पुगेर मात्र फर्किने गरेका छन् । पछिल्लो समयमा जिल्लाका म्याङ्लुङ, वसन्तपुर, जिरीखिम्ती, शुक्रबारे र संक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिने क्रममा छन् ।

लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्ष्यित होटल थपिनेक्रम बढेको होटल व्यवसायी संघका सचिव चेतन सुवेदीले जानकारी दिए। उनका अनुसार सरकारले नमूना शहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा अझ तीव्र गतिमा होटल व्यवसाय फस्टाउँदै गएको छ ।

पछिल्लो दुई वर्षयतामात्रै वसन्तपुर बजारमा एक दर्जन बढी सुविधायुक्त होटल थपिएका छन् । पहिले अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम पनि बढेको छ । हालसालै मात्र नयाँ भवन निर्माण गरेर पर्यटकका लागि सुविधा र सेवा थप गरी होटल सञ्चालन गरिरहेको याक होटलका सञ्चालक छिरिङ भोटियाले बताए ।

जिल्लाभर गरी कूल ५० लाख हाराहारी लगानीका होटल डेढ दर्जनभन्दा बढी पुगेको होटल व्यवसायी बताउँछन् ।

गुराँसको राजधानीका रुपमा चिनिने पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएको उनको बुझाइ छ । अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेको उद्योग वाणिज्य संघको तथ्याँक छ ।

जिल्लाभर गरी कूल ५० लाख हाराहारी लगानीका होटल डेढ दर्जनभन्दा बढी पुगेको होटल व्यवसायी बताउँछन् । व्यवसायीको उत्साह र हौसलाका लागि कतैबाट ध्यान नदिइँदा भनेजति प्रगति भने हुन नसकेको उनीहरुको भनाइ छ । जिल्लाका पर्यटकीय क्षेत्रको विकास र विस्तार साथै प्रचारप्रसारमा उचित ध्यान पु¥याउन सके आर्थिकरुपमा जिल्ला चाँडै समृद्ध बन्न सक्ने व्यवसायी दाबी गर्छन् ।

प्रशस्त पर्यटकीय सम्भावना भए पनि यहाँका पर्यटकीयस्थलको विकास र पर्यटन प्रवद्र्धनमा सरकारले त्यति धेरै चासो दिएको पाइँदैन । जिल्लाको पर्यटन विकासका लागि मध्यपहाडी लोकमार्ग कोसेढुंगा सावित हुने तेह्रथुम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले बताए । उक्त लोकमार्ग बनेपछि यहाँ अझै धेरै होटल व्यवसाय फस्टाउने उनको भनाइ छ ।


क्लिकमान्डु