आन्तरिक पर्यटकको रोजाईमा इलाम, बर्षा सकिएसँगै पर्यटक बढे



इलाम । बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ ।

जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्योदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती पर्यटकीयस्थलमा भारतीय, पश्चिमा मुलुक र आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ ।

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीयवासी मनोज भट्टराईले बताए । चाडबाडको समय तथा खुला मौसम भएकाले यहाँका होटल अगाडी नै बुक भइसकेका छन् । सन्दकपुरबाट कञ्चनजंघा, सगरमाथा, कुम्भकर्णलगायत हिमशृङ्खलासँगै सूर्योदय दृष्यावलोकन तथा नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ ।

पूर्वको हरियाली कन्याममा पनि बनभोज खाने र घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यहाँ दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयवासी काजीमान कागते बताउँछन् । झापा, मोरङ, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आएका छन् । यहाँबाट श्रीअन्तु, समालबुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ ।

सिमसार क्षेत्र माईपोखरी घुम्न आउनेको संख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किमी सडक पार गरेर पुगिने माईपोखरीमा दैनिक ३०० भन्दा बढी पर्यटक आउने स्थानीयवासी कमल मुखियाले बताए । यहाँ विश्वमै लोपोन्मुख गलैँचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् । विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पशुपक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । कन्काई माईको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको छ ।

भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किमीमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा समेत पर्यटक रोकिने गर्छन । नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको संख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै सन्दकपुर गाउँपालिकाको मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माईपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ ।

‘पर्यटक आउन थालेपछि बर्खाभरि बन्द रहेका होटल खुलेका छन्’, माइमझुवाका पेम्वाछिरिङ भोटियाले भने । मुख्य पर्यटकीय मौसममा दैनिक सयौँ पर्यटक आउने गरेका छन् । पर्यटक आगमनले यहाँको पर्यटन व्यवसाय फस्टाएको छ ।

पर्यटकीयस्थलमा पर्यटक आवागमन बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउँछन् । पर्यटकीयस्थलको प्रवद्र्धन गर्न समितिले पूर्वाधार निर्माणमा लाखौँ रकम खर्च गरेको छ । यहाँ पूर्वाधारकै कारण पर्यटकलाई आकर्षित गरेको हो । रासस


क्लिकमान्डु