सय रुपैयाँभन्दा कममा पाइदैन तरकारी, काउली प्रतिकेजी २ सय रुपैयाँ




काठमाडौं । तिहारको रमझममा भुलेका काठमाडौंबासीलाई तरकारीको भाउले ढाड सेकेको छ । एक हप्ता अगाडि मात्रै ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा पाइने तरकारी तिहार लागेपछि प्रतिकेजी २ सय रुपैयाँसम्म पुगेको छ ।

तरकारीको मूल्य साना तरकारी पसलहरुमा मात्रै होइन, काठमाडौं उपत्यकाकै ठूलो होलसेल बजार मानिने कालिमाटी फलफूल तथा तरकारी बजारमा नै अत्याधिक मूल्यबृद्ध भएको छ ।

तिहार सुरुभएदेखि काउली, परवल, बोडी र च्याउ, सिमी, बरेला जस्ता तरकारीको मूल्य प्रतिकेजी डेढ सय रुपैयाँभन्दा माथि छ । काउलीको मूल्य भने प्रतिकेजी २ सय रुपैयाँको हाराहारीमा पुगेको छ ।

तिहार लागेपछि कालिमाटीमा सबैजसो तरकारीमा मूल्यवृद्धी भएको छ । केही तरकारीहरु कालिमाटीमा नै १ सय ५० रुपैयाँभन्दा बढी मूल्यमा खरिद बिक्री भइरहेका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार काउलीको भाउ प्रतिकेजी १५५ रुपैयाँ पुगेको छ । कालिमाटीमा होसलेलमा नै यति मूल्य पर्न थालेपछि स्थानीय तरकारी पसल तथा साना पसलेले ग्राहकलाई प्रतिकेजी २ सय रुपैयाँका दरमा विक्री गर्ने गरेका छन् ।

कालिमाटीमा बोडीको होलसेल मूल्य प्रतिकेजी १ सय १५ रुपैयाँ पुगेको छ । खुद्रा बजार तथा पसलहरुमा भने बोडी प्रतिकेजी १ सय ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

च्याउ कालिमाटीको बजारमा नै २ सय ३५ रुपैयाँ प्रतिकेजीका दरले विक्री भैरहेको छ । यस्तै अन्य बजार तथा पसलहरुमा भने च्याउ प्रतिकेजी ३ सय रुपैयाँसम्ममा विक्री भैरहेको पाइएको छ ।

परवल कालिमाटीको बजारमा प्रतिकेजी ९८ रुपैयाँमा विक्री भए पनि अन्य बजारमा भने यसको मूल्य १ सय ३० रुपैयाँ पुगेको छ ।

हरियो प्याज कालिमाटीमा प्रतिकेजी १ सय ५५ रुपैयाँमा विक्री हुँदा कालिमाटी बाहिर अन्य बजार तथा पसलहरुमा १ सय ८० रुपैयाँ प्रतिकेजीका दरले विक्री भैरहेको छ ।


क्लिकमान्डु