बेलायतमा मानसिक रोगः बार्षिक ३ लाख जनाले जागिर गुमाउदै




काठमाडौं । मानसिक रोगले मानिसलाई आक्रान्त पार्दै लगेको छ । मानसिक रोगका कारण संसारभर धेरैको रोजगारी गुम्ने गरेको छ । त्यसमध्ये बेलायतमा मात्रै वार्षिक ३ लाखभन्दा बढीको रोजगारी गुम्ने गरेको पाइएको छ ।

रिपोर्टहरुमा जनाइअनुसार मानसिक स्वास्थ्यमा देखिने समस्याका कारण रोजगारी दिने निकाय, संघ संस्थाले आफ्ना कर्मचारी वा कामदारलाई रोजगारीबाट हटाउने गरेका छन् । उक्त समस्याका कारण बेलायती अर्थतन्त्रमा बार्षिक ९९ बिलियन पाण्उन्ड बराबरको नोक्सानी हुने गरेको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले मानसिक स्वास्थ्यमा देखिएको समस्या विरुद्ध जुध्न कुनै न कुनै नयाँ उपायको जरुरी देखिएको बताइन् ।

पाउल फार्मर जो यो प्रतिवेदन तयार पार्ने काममा संलग्न थिए, उनले भनेका छन् कि मानसिक स्वास्थ्य ठिक हुनु नै कार्यस्थलको सबैभन्दा महत्वपूर्ण विषय हो ।

‘महत्वपूर्ण अवसरहरु समेत गुमेका छन्, मानिसलाई त्यसले ठूलो प्रभाव पारेको छ, रोजगारी खोज्ने र रोजगारी दिने दुवैले यो विषयलाई विशेष ध्यान दिनु जरुरी छ,’ उनले भनेका छन् ।

मानसिक समस्यामा परेकाहरुले समेत उचित सल्लाह र सहयोग पाउन सकेका छैनन् । जसका कारण उनीहरुको समस्या दिनप्रतिदिन बढदै गएको प्रतिबेदनमा उल्लेख छ । प्रतिबेदनका अनुसार प्रत्येक ६ जना बेलायतीमा १ जना मानसिक रोगी रहेका छन् ।

‘मानसिक समस्यामा परेका व्यक्तिलाई रोजगार दिने निकायले महत्वपूर्ण सहयोग गर्नु जरुरी छ,’ प्रतिबेदनमा भनिएको छ– किनकि उनीहरुलाई जीवनको महत्वका बारेमा राम्ररी बुझाउनु जरुरी छ ।

तर, केही त्यस्ता निकाय पनि छन्, जसले समस्यामा परेकालाई सहयोग गर्नुको साटो थप समस्या थपिदिने गरेका छन् । तर केहीले भने समस्या समाधानमा महत्वपूर्ण सहयोग गरेर नयाँ जीवन पनि दिलाएका प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तो सहयोग गर्नेहरु ११ प्रतिशत मात्रै छन् ।

मानसिक समस्या समाधान गर्न कार्यस्थलमा के गर्ने
कार्ययोजनामा नै मानसिक स्वास्थ्यमैत्री वातावरण बनाउने ।

मानसिक जागरणका सूचना र सहयोग उपलब्ध गराउने ।

खुला रुपमा कुराकानी गर्ने ।

सहज रुपमा काम गर्ने वातावरण बनाउने, जसले काम र जीवनलाई संयोजन गर्न सहयोग गरोस् ।

सहज रुपमा जनशक्तिको व्यवस्थापन गर्ने, त्यसमा सम्बन्धित व्यवस्थापकले आफ्ना कर्मचारीको स्वास्थ्यको सहजतामा ध्यान दिने र त्यसलाई कार्यान्वयन गर्ने ।

नियमित रुपमा आफ्ना कर्मचारीको अनुगमन गर्ने ।
बिबिसीबाट


क्लिकमान्डु