बार्सिलोनामा स्पेन एकताको पक्षमा प्रदर्शन



बार्सिलोना । क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् ।

‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पिता पूर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

‘मेरो शहरमा स्पेनी झण्डासहितको घर छोड्न म कदापि तयार छैन,’ क्याटलोनियाको स्वतन्त्रता घोषणापछि क्रोधित बनेकी गिरोनीकी १९–बर्षीया विद्यार्थी मारिना फर्नान्डिजले भनिन् ।

‘म मेरा पूर्खाले स्थापना गरेको मुलुकमा उनीहरू (बिखण्डनकारी) समूहले गरेका क्रियाकलापबाट साह्रै वेखुशी बनेकी छु,’ उनले भनिन् ।

एकताका पक्षधर क्याटलोनियालीले गाउदी शहरमा जम्मा भएका प्रदर्शनकारीले क्याटलोनियालाई स्वतन्त्र बनाउने अभियानको नेतृत्व गरेका काल्र्स पुज्डमोनलाई कैँद हाली स्पेनी जनताको एकताको समर्थनप्रति सम्मान गर्नुपर्ने बताए ।

क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा शुक्रबार भएकोे गोप्य मतदानलाई एकताका पक्षधरहरूले बहिष्कार गरेका थिए । संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको थियो भने विपक्षमा १० मत परेको थियो । दुई सांसद्ले मतदानमा मतपत्रलाई खाली खसालेका थिए ।

मतदान पछि क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व गरेका नेताहरूले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको बताएका छन् । तर केन्द्र सरकारले क्षेत्रीय सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन शुरु गरेको छ । रासस


पुष्प दुलाल