यी हुन् नेपालका उत्कृष्ट साहसिक पदमार्ग, जो ‘लोन्ली प्लानेट’को सूचीमा परे



काठमाडौं । अमेरिकाको ट्राभल वेबसाइट कम्पनीे ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ । लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने अनुमान छ ।

नेपालको शानदार पदयात्रा पूर्वाधारका कारण तपाईंले धेरै केही गर्नै पर्दैन, मात्र पदयात्रा अनुमति लिनुस् र हिँड्न सुरु गर्नुस् । तर, तपाईंले कुन ठाउँको पदयात्रामा जाने हो पहिले त्यसबारे निर्णय गर्नुपर्छ र यो पनि त्यति सजिलो काम भने होइन किनभने नेपालमा सयौं हिमाल र पहाड छन् ।

उत्तरी भेग सेताम्मे हिउँले भरिएका हिमालले ढाकेका छन् जसमा सर्वोच्च शिखर सगरमाथामात्र होइन पूर्वमा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघादेखि पश्चिममा ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालसम्म छन् । अधिकांश पदयात्रामार्गीले सगरमाथा आधारशिविर वा अन्नपूर्ण राउन्ड पदयात्रा गर्न रुचाउने गरे पनि नेपालमा दर्जनौं उत्कृष्ट पदयात्रा मार्ग छन् ।

कुनै राजधानी काठमाडौंबाट केही समयको पैदलमै पुगिने पनि छन् । र, अन्यमा पुग्न भने क्याम्पिङ गर्दै गाइड लिएर जानुपर्छ । नेपालका पदयात्रा क्षेत्रबाट पर्यटकले धेरै नै उत्कृष्ट अनुभव हासिल गर्न सक्छन् ।

सगरमाथा क्षेत्र

सगरमाथा क्षेत्र दृश्यावलोकन, उचाइ, बौद्ध संस्कृति र पदयात्राका लागि राम्रो क्षेत्र हो । सोलुखुम्बुका लेक लाग्ने उपत्यका ८ हजार ८ सय ४८ मिटर अग्लो संसारकै उच्च शिखर सगरमाथा र यसको आधारशिविर छिर्ने प्रमुख रुट हुन् । यो संसारकै सबैभन्दा प्रख्यात पदयात्रा मार्ग हो । प्रमुख मौसममा प्रत्येक दिन १ हजारभन्दा बढी पदयात्रामार्गी जहाजबाट लुक्ला ओर्लने गर्छन् । यो पदयात्रामार्गमा आरामदायी लजदजेखि होटल, बार, तातोपानी र वाइफाई इन्टरनेट उपलब्ध छन् ।

अन्नपूर्ण क्षेत्र

अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि नामुद छ । पोखराबाट उत्तरपट्टि रहेको यो क्षेत्रमा ७ हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दसौं अग्लो ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल पनि पर्छ ।

प्रत्येक वर्ष बनिरहेका सडकले पदयात्रा मार्गलाई समस्यामा पारे पनि लमजुङको बेसिसहरदेखि मुस्ताङको जोमसोमसम्मको वर्तमान रुट संसारकै उत्कृष्ट पदयात्रा मार्ग्भित्र पर्छ । १० दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौं साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् । अर्को्तिर दुर्गम मुस्ताङ र नार-फूको पदयात्रा थप साहसिक छन् ।

लाङटाङ, हेलम्बु र मनास्लु

यी क्षेत्र हिमाल र गुम्बा, काठमाडौंबाट नजिक, पदयात्रामार्गीका लागि सोहाद्र्रप्रर्ण र कम उचाइका भेगका कारण चर्चित छन् । लाङटाङ र हेलम्बु दुई वर्षअघिको भूकम्पबाट बढी नै प्रभावित भएका थिए । तर, नेपाल यसबाट धेरै लामो समय पीडित भएन र पदयात्रामार्गी धमाधम काठमाडौंबाट नजिकका ती पदयात्रा मार्गमा जान थालेका थिए ।

यी क्षेत्र रौं ठाडो पार्ने माउन्टेन फ्लाइटबाट पनि देख्न सकिन्छ भने सामान्य बस चढेर पनि पुग्न सकिन्छ । केही मार्ग ३ हजार ८ सय ७० मिटर उचाइसम्म पनि जान्छन् । भूकम्पअघि पूर्वी लाङटाङ सगरमाथा र अन्नपूर्णको प्रतिस्पर्धीका रुपमा उभिएको थियो ।

पूर्वी नेपाल

नेपालको पूर्वी क्षेत्र शान्त र सुन्दर, खालि पदयात्रा मार्ग तथा कञ्चनजंघालाई नजिकबाट हेर्न मिल्ने विशेषताले भरिएको छ । सगरमाथा, अन्नपूर्ण र लाङटाङ जस्ता स्थापित पदयात्रा मार्गसँग तुलना गर्दा नेपालको पूर्वी क्षेत्र तल्लो भेगमा चिया बगानदेखि उचाइमा लेक लाग्ने उपत्यकाले भरिएको छ । जहाँ जान क्याम्पिङ गर्नुपर्छ र विशेष अनुमतिसहित गाइड लिएरमात्र पुग्न सकिन्छ ।

ठाउँ-ठाउँमा वाइफाई इन्टरनेट र स्याउका परिकारमात्र नभई संसारकै तेस्रो अग्लो ८ हजार ५ सय ८६ मिटरको कञ्चनजंघा हिमाल नजिकबाट नियाल्न पाइन्छ । सँगै संसारकै पाँचौं अग्लो ८ हजार ४ सय ६३ मिटरको मकालु हिमाल छँदैछ । यहाँका पदयात्रा मार्गमा कोदोबाट बनेको स्थानीय मदिरा ‘तोङ्बा’ अर्को आकर्षण हो ।

पश्चिम नेपाल

नेपालको पश्चिम क्षेत्र हिमाली ताल, दुर्गम गुम्बा जस्ता विशेषताले भरिएको छ । पश्चिम नेपाल पुग्ने पदयात्रामार्गीले विश्वकै प्राचिन जंगली दृश्यावलोकन, हिमताल र प्राचिन गुम्बाको गाउँको छुट्टै अनुभव लिन पाउने छ । पदयात्रामार्गीले त्यहाँ पुग्न हवाई उडान गर्नुपर्छ भने ट्रेकिङ कम्पनीमार्फत प्रतिवन्धित क्षेत्र अनुमतिको व्यवस्था गर्नुपर्छ । जहाँ दुर्गम समुदायसँग साक्षत्कार गर्न पनि पाइन्छ ।

अधिकांश पदयात्रामार्गी डोल्पाको दुनै र जुम्ला विमानस्थल ओर्लिएपछि यात्रा सुरु गर्न सक्छन् । म्याग्दीको बेनीबाट गाडीमा पनि जान सकिन्छ । त्यसबाहेक से फोक्सुन्डो, रारा जस्ता मनमोहक ताल, अनाम हिमाल, से गुम्बा, हुम्ला, प्राचिन बौद्ध सभ्यता थप आकर्षक पक्ष हुन् ।


क्लिकमान्डु