दुर्घटना हुदाँ चार दिन विमानस्थल बन्द गरेको टर्किस जहाज बन्यो म्युजियम




काठमाडौं । आज भन्दा दुई वर्ष अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा टर्किस एयरलाइन्सको एयरवस ३३०-३०० सिरिजको जहाज दुर्घटनामा भयो । जसमा कुनै मानविय क्षति नभएता पनि त्रिभुवन विमानस्थल ४ दिन सम्म बन्द हुन पुगेको थियो ।

टर्किस एयरलाइन्सले एयरबस कम्पनीबाट किनेको ८ महिनामै नेपाली झन्डै २६ अर्ब रुपैयाँ पर्ने जहाज गुमाउनु पर्यो । विजनेश क्लास नुहदाँ ४ सय यात्रु बोक्ने क्षमताको उक्त जहाज एयरलाइन्सले बनाउन नसकेपछि नेपालमै म्युजियमको रुपमा तयार भएको छ ।

कम्पनीले बनाउने अथक प्रयास गरेता पनि नेपालको विमानस्थल सानो हुदाँ ठूला इक्यिुपमेन्ट ल्याउन नसकेपछि नेपालमा स्क्राप गर्ने घोषणा गरेको थियो । त्यो घोषणा नजिकबाट नियालेका क्याप्टेन वेद उप्रेतीले काठमाडौंमै एभिएसन म्युजियमको कल्पना गरे । जसलाई नागरिक उड्डयन प्राधिकरणले साथ दियो र भन्डै १ वर्षपछि म्युजियमको रुपममा काठमाडौंको सिनामंगलमा म्युजियम स्थापना गर्न सफल भएका छन् ।

शनिबार देखि खुल्ला गरिएको म्युजियमले जहाज सम्बन्धी सम्पूर्ण जानकारी दिने दावी वेद उप्रेती ट्रष्टका अध्यक्ष क्याप्टे वेद उप्रेती बताउँछन् । धनगढीमा फोकर-१०० जहाजको संग्रालय बनाएर चर्चा कमाएका उप्रेतीले सिनामंगलको म्युजियमले सम्पूर्ण एभिएसनको जानकारी दिने दावी गर्दछन् ।

यस्तो छ म्युजियम
जमिनबाट टेको दिएर खडा भएको जहाजमा भित्र पस्न अगाडि दुई र पछाडि एउटा भ¥याङ बनाइएको छ । म्युजियम भित्र ५ खण्ड बनाएर उड्डयन क्षेत्रकै विषयवस्तु प्रदर्शनीका लागि राखिएको छ ।

म्युजियमको सुरुवामा तयार गरिएको वेलकम हल हो । वेलकम हलमै एयरबस-३३० को ग्लास ककपिट पनि राखिएको छ । भने राइट ब्रदर्सले बनाएको पहिलो जहाजको मोडेल पनि छ । वेलकम हलको दायाँ र बायाँ पट्टि मिनिचर जहाजहरु र माथि क्याप्टेन उप्रेतीले खिचेका एरियल फोटोग्राफ राखिएका छन् ।

दोस्रो हललाई ‘एयर फोर्स हल’ नाम दिइएको छ । पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु राखिएको छ । त्यसकै अन्तिम भागतीर एयरबस-३८० र बोइङ-७७७ को मोडल हेर्न पाइन्छ ।

‘एयरलाइन’ नाम दिइएको तेस्रो हलमा संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य जहाजहरु (बोइङ र एयरबसका विभिन्न सिरिज) राखिएको उप्रेतीले जानकारी दिए ।

‘चौंथो हल पूर्णतया नेपालको सेक्सन हो । नेपालमा उडेका डिसी थ्रीबाट अहिले आउँदै गरेको एयरबस–३३० र आर्मीको सिएन–३५ का मोडेलहरु राखिएको छ ।

पाँचौं हलमा दायाँ-बायाँमा नेपाली विद्यार्थीहरुले बनाएका मिनिचर जहाजहरु र माथि एरिएल फोटोग्राफका साथै बसेर चियापान गर्ने व्यवस्था समेत मिलाइएको छ ।

विमानको अगाडिकै तल्लो भागमा सभाहल समेत बनाइएको छ । ‘हुम्ला हल’ नाम दिइएको छ । जहाँ पाइलटहरुलाई रिफ्रेस र क्लास दिन सकिन्छ र जसले पनि भाडामा लिएर कार्यक्रम गर्न सक्छन् ।

जहाजलाई १० टुक्रा पारेर लगिएको थियो
विमानस्थलबाट १० टुक्रा पारेर स्वदेशी र विदेशी टेक्निसियनहरुले ठूला ठूला लरीहरुमा हालेर ३-४ रात लगाएर सिनामंगल लगिएको थियो । जसलाई उप्रेतीले टर्किस एयरलाइन्सकै टेक्निसियनहरुलाई १ लाख डलर तिरेर नेपाल ल्याएका थिए । दिउँसोमा विमानस्थलमा उडान र अवतरणका कारण ल्याउन नमिलेकाले रातको १२ बजेदेखि बिहान ३ बजेको बीचमा त्यो काम भएको उनले बताए ।

सहकार्य प्राधिकरणसंग
किनिसकेका थियौं तर त्यही बेला नागरिक उड्यन प्राधिकरणले पनि उड्डयन क्षेत्रमा विद्यार्थी आकर्षित गर्न सहकार्य गरौं भन्ने प्रस्ताव ग¥यो र सजिलो भयो’, क्याप्टेल उप्रेतीले भने ।

अबको १० बर्षपछि उड्डयन क्षेत्रमा काम गर्ने जनशक्तिको ठूलो मात्रामा अभाव हुने भन्दै अन्तर्राष्ट्रिय हवाई संगठन (आइकाओ) ले माध्यमिकदेखि उच्च माध्यामिक तह (कक्षा ९ देखि कक्षा १२) सम्मका विद्यार्थीलाई उड्डयन क्षेत्रमा आकर्षित गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्न प्रत्येक देशका नागरिक उड्डयन सम्बन्धी निकायलाई निर्देशन दिएको छ ।

आइकाओको निर्देशनले पनि नागरिक उड्डयन प्राधिकरणलाई पनि वेद उप्रेतीको प्रस्तावले सजिलो बनाइको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठ बताउँछन । सहमति अनुसार जग्गा प्रयोग गरेवापत संग्रहालय सञ्चालनमा आएपछि परिचयपत्र भएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पूर्णरुपमा निःशुल्क प्रवेश दिने तयारी गरिएको छ । बताए । त्यस बाहेकका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने र अन्यलाइ डेढ सय देखि ३०० सम्म प्रवेश शुल्क लिने योजना रहेको उप्रेतीले जानकारी दिए । म्युजियम निर्माणमा ६ करोड लागत अनुमान गरिएकोमा ७ करोडभन्दा बढी लागेको उप्रेतीले बताए ।

प्राधिकरणले १० वर्षको लागि ८ हजार स्वायरमिटर जग्गा दिएको छ । जसको मासिक भाडा मात्रै करिव ४ लाख रुपैयाँ रहेको छ । भने प्राधिकरणले प्रत्येक टिकको १५ प्रतिशत समेत पाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु