जब विद्यासुन्दरले चिरिबाबुलाई भोट हाले…



काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर निर्वाचित भएका विद्यासुन्दर शाक्यले कांग्रेसका तर्फबाट ललितपुरको मेयरमा निर्वाचित चिरिबाबु महर्जनलाई भोट हालेका छन् ।

यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । नलागोस् पनि कसरी ? राष्ट्रिय राजनीतिमा कांग्रेस र एमालेबीच यति ठूलो तिक्तता भइरहेका बेला यस्तो होला भनेर पत्याउन निकै कठिन हुन्छ ।

तर, पत्याउनुहोस्, विद्यासुन्दरले चिरिबाबुलाई भोट हाले ।

श्रीलंकाको राजधानी कोलम्बोमा नोबेम्बर ५ देखि भएको अन्तर्राष्ट्रिय मेयर फोरमको कार्यसमिति सदस्यमा विद्यासुन्दरले चिरिबाबुलाई भोट हालेका हुन् । विद्यासुन्दरले भोटको वारेसनामा चिरिबाबुलाई नै दिएर पठाएका थिए ।

फोरमको अधिबेसन मंगलबार सकिएको छ । अधिबेसनबाट चिरिबाबु फोरमको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

कुल १ सय ३८ मतदाता रहेको फोरममा नेपालका १३ वटा नगरपालिका सदस्य छन् । जसअनुसार नेपालको १३ भोट छ । एशियाली विकास बैंक, अन्तराष्ट्रिय मुद्रा कोषलगायतसमेत सदस्य रहेको फोरममा अध्यक्ष र सदस्यसचिवसहित ८ जनाको कार्यसमिति निर्वाचित भएको हो ।

फोरमले आफ्ना सदस्य नगरपालिका तथा महानगरपालिकाहरुको विकासमा आर्थिक तथा प्रांविधिक सहयोगसमेत उपलब्ध गराउँछ ।

दुई मेयरबीच यसरी भयो सहमति

काठमाडौंका मेयर विद्यासुन्दर र ललितपुरका मेयर चिरिबाबु दुबैले अन्तर्राष्ट्रिय मेयर फोरमको कार्यसमिति सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका थिए । उम्मेद्वारी दर्ता गराएपछि मात्रै एक अर्कालाई यो कुरा थाहा भयो ।

जब चिरिबाबुले विद्यासुन्दरले पनि उम्मेद्वारी दिएका थाहा पाए । उनी विद्यासुन्दरलाई भेट्न काठमाडौं महानगरपालिकाको कार्यालयमै पुगे ।

चिरिबाबुले यो पटक पहिल्यै आफूले उम्मेद्वारी दिइसकेकाले आफूलाई छाडिदिन आग्रह गरे । तर, विद्यासुन्दरले मानेनन् । उनले पनि आफूलाई छाडिदिन चिरिबाबुलाई आग्रह गरे ।

केही समय दुबै मेयरहरु आआफ्नै अडानमा अडिग रहे । तर, यसरी एकै देशबाट २ जनाको उम्मेद्वारी पर्दा दुबै जनाले हार्ने कुरा उनीहरुले बुझेका थिए ।

विद्यासुन्दरले छाड्न नमाने पछि चिरिबाबुले एउटा प्रस्ताब राखे । त्यो हो,– अब हुने यस्ता अन्तराष्ट्रिय फोरममा विद्यासुन्दरलाई सघाउने । चिरिबाबुको यो प्रस्ताब विद्यासुन्दरलाई पनि चित्त बुझ्यो । र, आफ्नो उम्मेद्वारी फिर्ता गरे । अनि चिरिबाबुलाई मतदानको वारेसनामा दिएर पठाए ।


पुष्प दुलाल