क्यानमा मन्त्री र डिजीको झगडा, यो महिना बजेट पास नभए काम ठप्प



महानिर्देशक सञ्जिव गौतम दायाँ र मन्त्री जितेन्द्र देव बाँया

काठमाडौं । नेतृत्वबीचको टकरावले नागरिक उड्डयन प्राधिकरणको बजेट पारित हुन नसक्दा आयोजनानै प्रभावित हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवबीचको टकारावले प्राधिकरणको बजेट पास हुन नसक्दा आयोजनानै समस्यामा पर्ने देखिएको हो ।

मन्त्रीदेवले महानिर्देशक गौतमलाई हटाउने निर्णय निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित भन्दै उल्टाइ दिएको थियो । त्यसपछि मन्त्री देव र महानिर्देशक गौतमबीच पानी बारबारको स्थिती रहेको छ ।

आर्थिक वर्षको बजेट साउनमै पास भएर कार्यन्वयनमा जानुपर्नेमा मन्त्री र महानिर्देशकबीचको झगडाले हालसम्म पनि बजेट पारित हुन नसकेको हो ।

प्राधिकरणले चालु आर्थिक वर्षको लागि ४३ अर्व २३ करोड रुपैयाँको बजेट तयार पारेको छ । प्राधिकरण संचालक समितिका अध्यक्ष मन्त्री र सदस्य सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ ।

मन्त्री देवले व्यस्तताको कारण देखाऊदै संचालक समितिको बैठकनै बोलएका छैनन् । कात्तिक महिना भित्र पनि बजेट कार्यन्वयनमा गएन भने आयोजनाहरु ठप्प हुने तथा कर्मचारीहरुको तलव समेत रोकिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

‘बजेट तयार भएपनि मन्त्री ज्यूको व्यस्तताले बैठक बस्न सकेको छैन,’ प्रवक्ता श्रेष्ठले भने ।

यस्तो छ मन्त्री र महानिर्देशकको बिबादको कारण
पर्यटन मन्त्री देवले महानिर्देशक सञ्जिव गौतमलाई दुईवटक स्पष्टीकरण सोधेर काम सन्तोषजनक नभएको भन्दै हटाउने निर्णय गरेका थिए । तर निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित महानिर्देशक हटाएको भन्दै मन्त्री देवलाईनै २४ घन्टे स्पष्टिकरण सोधेको थियो । त्यसपछि गौतम हटाउने प्रक्रियाबाट पछाडी हटेका देवले प्राधिकरणलाई अफ्ठेरोमा पार्नको लागि बजेट पारित नगराएको प्राधिकरण स्रोतको दावी छ ।

मन्त्री देवले ठूला आयोजना अगाडी बढाउन असक्षम भएको भन्दै गौतमलाई स्पष्टीकरण सोधेका थिए । मन्त्रीले एकवर्ष अगाडी गौतम र मन्त्रायका तत्कालिन सचिव शंकर प्रसाद अधिकारीबीच भएको कार्यम्पादन मूल्यांकन करार सम्झौता भएको थियो । जसमा गौतमले ३८ वटा काम गर्ने प्रतिवद्धता जनाउदैंं सम्झौता गरेका थिए ।

गौतमले गरेका सम्झौतामा कुनै पनि कार्य सुधार उन्मुख नदेखिएपछि स्पष्टीकरण सोधेको मन्त्रीले बताउँदै आएका थिए । मन्त्री देवले बाराको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कार्य अगाडी बढाउन नसकेको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार कार्यको अलपत्र पारेको, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा समेत नेर्तृत्वदायी भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।

त्यस्तैगरी पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि गति आउन नसकेको तथा हवाई सुरक्षामा समेत सन्तोषजनक काम गर्न नसकेको आरोप मन्त्रीले लगाएका थिए ।

नागरिक उड्डयन प्राधिकरण ऐन मा महानिर्देशकको पदावधी ४ वर्षको हुने व्यवस्था रहेको छ । गौतमलाई दुई वर्ष अगाडी तत्कालिन पर्यटन मन्त्री कृपासुर शेर्पाले नियुक्त गरेका थिए ।


क्लिकमान्डु