२ करोडको सम्पत्ति जोगाउन गुरु न्यौपानेले श्रीमतिसँग डिभोर्स गरेपछि…



काठमाडौं । हाइड्रोपावर व्यवसायी गुरु न्यौपानेले आफ्नै वृद्ध पत्नी सावित्री न्यौपानेसँग कानूनीरुपमा सम्बन्धबिच्छेद (डिभोर्स) गरेका छन् । न्याैपानेले २ करोड १९ लाख रुपैयाँको सम्पत्ति जोगाउन कागजी डिभोर्स गरेका हुन् ।

न्यौपानेको पारिवाकि स्रोतका अनुसार बानेश्वरमा रहेको घरमा श्रीमान-श्रीमती सँगै बस्दै आएका छन् । तर, काजगमा भने उनीहरुबीच डिभोर्स भइसकेको छ ।

जनता बैंकको अध्यक्ष भएका बेला न्यौपानेले श्रीमती सावित्रीदेवीका नाममा ८५ हजार कित्ता सेयर भित्री रुपमा किनेका (इन्साइडर ट्रेडिङ) गरेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरिद गर्न पाइँदैन ।

यसरी न्यौपानेले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएपछि उनकी पत्नी सावित्रीदेवीको नाममा भएको सेयर जफत गर्न राष्ट्र बैंकले जनता बैंकलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशनपछि जनताले सावित्रीदेवीको नाममा रहेकाे सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति मंगलबारसम्म तोकिएको थियो ।

न्यौपानेले श्रीमतीसँग डिभोर्स भइसकेको कागज तयार पारेर अदालतमा मुद्दा दायर गरेका थिए ।

जनता बैंकले न्यौपाने पत्नीको सेयर लिलामीको प्रक्रिया अघि बढाएपछि उनले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले मंगलबार न्यौपानेको सेयर तत्काल लिलामी नगर्न अन्तरिम आदेश समेत दिएको छ ।

अदालतको आदेशपछि जनता बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जनाएको छ ।


पुष्प दुलाल